माओवादी केन्द्रको निष्कृयता तोड्न दबाब : महाधिवेशनको आवाज उठ्दै

विराटनगर । गत फागुन २३ गते सर्वोच्च अदालतबाट पुनस्थापित भएको नेकपा माओवादी केन्द्रले त्यस यता पार्टी गतिविधिलाई व्यवस्थित ढंगले सञ्चालन नगर्दा तल्ला कमिटिहरु निष्कृय झैं बन्न पुगेका छन् । लामो समयको निष्कृयता अन्त्य गर्न पार्टीलाई महाधिवेशन उन्मुख गराउनुपर्ने आवाज उठ्न थालेको छ ।

२०७५ साल जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच एकता भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा त्यसअघि नै दर्ता भएको दल नेपाल कम्युनिष्ट पार्टीसँग जुध्न पुगेको भन्दै सर्बोच्च अदालतले एकता नै खारेज गरिदियो । सर्वोच्च अदालतको फैसलापछि चैत र वैशाख १५ सम्म नेकपा माओवादी केन्द्रले संगठन निर्माण तथा पुनर्गठनको काम गरेको अगाडि बढाएको थियो ।

‘कोभिडका कारण पार्टी र संगठनका कामहरु प्रभावित भएका हुन्,’ नेकपा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले भने ‘जनताको जीवन प्राथमिकतामा राख्नुपर्ने भएकोले महामारीको बेलामा पार्टी संगठनको काम दोश्रो प्राथमिकतामा परेको हो ।’ उनले सर्वोच्च अदालतलमा दायर भएको प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा नटुंगिदा राजनीतिक कोर्ष तय गर्न समय लागेको र फैसलासँगै अब पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने बताए ।

नेकपा माओवादी केन्द्रले एमालेसँग एकीकरण गरेपछि पार्टी सदस्यता नविकरणको काम गरेको छैन । नेकपामा हुँदा पार्टी सदस्यहरुको संख्या सम्बन्धी अन्तिम निर्णय नहुँदा नविकरणको काम रोकिएको थियो । अदालतको फैसलाले फेरि पुरानै पार्टीको संरचना पुनस्र्थापित गरिदिएपनि झण्डै तीन महिनाको निषेधाज्ञा आदि कारणले संगठन सम्बन्धी गतिविधि रोक्नु परेको नेकपा माओवादी मोरङका सचिव गणेश उप्रेतीको भनाइ छ ।

अदालतको फैसलापछि पार्टीले जिल्लाका सबै पालिका र वडा कमिटीहरु पुनर्गठन गर्ने काम सम्पन्न गरेको छ । यस्तै विद्यार्थी, युवा लगायत केही जनवर्गीय संगठनहरुको पुनर्गठन गरेको र केहीको बाँकी रहेको र पार्टी सदस्यता नविकरणको प्रकृया सुरु गर्ने तयारी भइरहेकै बेला कोभिडको दोश्रो लहर तीब्र बनेका कारण स्थगित गरिएको उप्रेतीले बताए । उनले मोरङलगायत सबै जिल्लाहरुले पालिका र वार्ड तहको कमिटी पुनर्गठन गरी पार्टी गतिविधिहरु सञ्चालन गरिरहेको बताए ।

‘अब पार्टी सस्यता नविकरण, निर्वाचन क्षेत्रीय संयोजन कमिटीहरु गठन, बाँकी रहेका जबसहरुको पुनर्गठनको काम तत्काल सम्पन्न गरी अब पार्टी कमिटीहरुको अधिवेशन गर्ने तयारीमा ढिला नगरी बढ्न पर्ने अवस्था छ’ उप्रेतीले भने । यसले पार्टी गतिविधिलाई सक्रिय पार्ने र जनताका समस्याहरुमा पार्टी परिचालन हुने अवस्था सिर्जना गर्ने उनको भनाइ छ ।
एकता प्रक्रियाबाट पुरानै अवस्थामा आएपछि पार्टीको बिचार, कार्यदिशा र आगामी कार्यक्रम के हुने भन्ने विषय टुंगो गरेर सोही अनुरुप संगठनहरु निर्माण गर्ने तयारीमा जुटेकाले निष्कृयता जस्तो देखापरेको सहइन्चार्ज काफ्लेको भनाइ छ । ‘पार्टीले बिचार, कार्यदिशा र संगठन आदिका बारेमा सुझाव दिन कार्यदल गठन गरी जिम्मेवारी दिएको छ,’ उनले भने ‘कार्यदलले प्रतिवेशन बुझाएपछि पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने तयारी छ ।’

पार्टी कामलाई जनताको बिचमा निरन्तर लैजान नसक्नुका पछाडि कोरोना बाहेक केन्द्रीय नेताहरुको अकर्मण्यता र काठमाण्डौ केन्द्रित मानसिकताले पनि काम गरेको माओवादी केन्द्र मोरङका सचिव उप्रेतीले बताए । ‘केन्द्रबाट आउनुपर्ने कार्यक्रमहरु नियमित हुन सकेन, जसले पार्टीलाई निरन्तर चलायमान बनाइराख्न समस्या हुने नै भयो । अब पार्टीलाई महाधिवेशन तर्फ उन्मुख गराउँदै पार्टी गतिविधि सक्रिय बनाउनु पर्छ’ उनले भने ।
महाधिवेशनको तयारी गर्नुपर्ने दवाव तल्ला कमिटीहरुबाट पनि आउन थालेको पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रले २०६९ सालपछि पार्टीको औपचारिक महाधिवेशन गरेको छैन ।

पार्टीले संगठनतर्फ केन्द्रीय कमिटीको संख्या र प्रदेश पदाधिकारीको बारेमा टुंगो गरेपछि सकेसम्म छिटो महाधिवेशनतर्फ अगाडि बढ्नुपर्ने सहइन्चार्ज काफ्ले बताउँछन् । त्यसले पार्टीलाई आम कार्यकर्ताको बीचमा पु¥याउँदै जनतामा जाने अवसर सिर्जना हुने र अब करिब प्रतिगमनकारी गतिविधि रोकिएर राजनीतिक कोर्ष सकारात्मक दिशामा उन्मुख भएकोले पार्टी सक्रिय हुने विश्वास उनले व्यक्त गरेका छन् ।

बुधबार, ३० असार, २०७८, बिहानको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर