विराटनगर । दोस्रो पटक संसद विघटन भएको विषयमा परेको उजुरीबारे सवोच्च अदालतले आज फैसला सुनाउँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गत जेठ ७ गते संसद विघटन गरिएको थियो ।
संवैधानिक इजलासको आजको बैठकले फैसला सुनाउने अपेक्षा गरिएको छ । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई रहेका छन् ।
इजलासमा पक्ष विपक्षको बहस, एमिकस क्युरीको रायलगायतका प्रक्रिया गत असार २१ गते सकिएको थियो । प्रतिनिधिसभाका १४६ सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि असार ९ गतेदेखि निरन्तर बहस भएर २१ गते सकिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न माग गरिएको छ ।
यसअघि गत पुसमा गरिएको प्रतिनिधिसभा विघटन संवैधानिक इजलासले असंवैधानिक ठहर गरिदिएको थियो ।