माओवादी केन्द्रविरुद्ध एमाले नेताले दिएको उजुरी खारेज

काठमाडौं । निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रविरुद्ध नेकपा एमालेका नेताहरुले वैधानिकताको विषय उठाउँदै दिएको उजुरी खारेज गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो ।

आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको जानकारी दिए । अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो ।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए । आयोगले पूर्वमाओवादी नेताहरूको दावीलाई अस्वीकार गरेको हो । त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ ।

पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएकोसमेत आयोगले जनाएको छ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूले पार्टी अवैधानिक नरहेको र आपूmहरुमाथिको कारबाही खारेज हुनुपर्ने दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

माओवादी केन्द्रले २०६९ सालपछि महाधिवेशन नै नगरेको भन्दै उनीहरुले पार्टीको दर्ता खारेजीको माग गरेका थिए । शुक्रबार रायमाझीको नेतृत्वमा एमाले नेताहरु आयोग पुगेका थिए ।

आइतबार, २७ असार, २०७८, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर