विराटनगर । नेकपा एमालेमा देखा परेको आन्तरिक विवाद समाधान गरी एकतावद्ध पार्टी बनाउने प्रयत्न भइरहेको बेला त्यसलाई भाँड्ने गरी एमालेको केपी ओली समूहले मोरङमा पार्टीको गतिविधि अगाडि बढाएको अर्को पक्षले आरोप लगाएको छ ।
बुधबार नेकपा एमाले मोरङको बैठक बसेर साउन १० गतेभित्र सबै पार्टी सदस्यहरुको सदस्यता नविकरण गरिसक्न पालिका कमिटीहरुलाई निर्देशन दिएको थियो ।
नेकपा एमालेमा सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा माओवादीसँगको एकता पूर्वको संगठन संरचना क्रियाशिल बनाउनु पर्ने माग राखेर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असहमति राख्दै आएको छ ।
पछिल्लो समयमा जारी वार्ता र छलफलहरु जेठ २ गतेको संरचनामा फर्किने विषयमा करिव सहमतिको नजिक पुगेको बेला त्यसलाई प्रभावित पार्ने गरी निर्णयहरु गर्ने कामले एकताको वातावरण बन्ने भन्दा भाँडिने नेता महेश रेग्मीले बताएका छन् ।
नेता रेग्मीले भन्छन् ‘अहिले नेकपा एमालेको नाममा भएको निर्णय र अधिवेशन लगायतका प्रकृयासँग सम्बन्धित निर्णयहरु अवैधानिक छन् । अदालतको फैसला अनुसार जेठ २ को संरचनामा रहेर पार्टीको एउटै बैठक बसेको छैन । फागुन २८ पछि ओली समूहले गठन गरेको आयोजक कमिटीको संरचनाले गरेको निर्णयलाई सर्वोच्च अदालतले नै मान्यता नदिएको हुँदा पार्टी सदस्यता नविकरण गर्ने, वार्ड तथा गाउँ÷नगरको अधिवेशनको कुरा पार्टीको निर्णय अन्तरगत भएका होइनन् । माथि वार्ता र छलफल भइरहेको बेला हतारमा यस्तो निर्णय गर्दै हिड्नु त्रुटिपूर्ण छ । कुनै सल्लाह, छलफल नगरी गरिएका यस्ता निर्णयले एकताको वातावरण बनाउँदैन बरु भाँड्छ ।’
नेकपा एमाले मोरङले साउन १० गतेभित्र सबै पार्टी सदस्यहरुलाई सदस्यता नविकरण गरिसक्न निर्देशन गरेको छ । नेकपा एमाले मोरङको संगठन विभागको बुधबार बसेको वैठकले जिल्लाका सवै पालिका कमिटीहरुलाई यस्तो निर्देशन गरेको हो ।
नेकपा एमाले मोरङमा माओवादी केन्द्रसँग एकता पूर्व २३ हजार पार्टी सदस्य थिए । माओवादीसँग एकता गरेपछि ३६ हजार पार्टी सदस्य पुगेका थिए । २०७२ सालमा भएको जिल्ला अधिवेशन पछि कसैको पनि पार्टी सदस्यता नविकरण गरिएको छैन । माओवादी र एमालेलाई अदालतको फैसलाले अलग गराइदिएपछि करिव एमालेसँग कति सदस्य कायम छन् भन्ने यकिन विवरण पनि छैन । नेकपा एमालेले प्रतिवर्ष २४० रुपैयाँका दरले सदस्यता नविकरण शूल्क लिने गरेको थियो ।
अहिले पार्टी सदस्यता नविकरण गर्दा हरेक सदस्यले एकमुष्ठ १ हजार ६४० रुपैयाँ तिर्नुपर्छ । कोरोना महामारीबाट प्रभावित भएका सदस्यहरुसँग एकमुष्ठ यतिठूलो रकम तिरेर सदस्यता नविकरण गर भन्ने नैतिक बल पार्टीसँग नभएकोले त्यस विषयमा छलफल गरेर मात्र अघि बढ्नु पर्ने पूर्व जिल्ला अध्यक्ष रेग्मी बताउँछन् । त्यो भन्दा अघि पार्टीको आन्तरिक विवाद समाधान गरेपछि मात्र यस्तो विषय अगाडि बढाउनु उपयुक्त हुने उनले बताए ।
संगठन विभाग प्रमुख महेश भट्टराईको अध्यक्षतामा बसेको वैठकमा केन्द्रिय सर्कुलरको समेत जानकारी गराउँदै नेकपा एमालेका मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्धारित समयभित्र सदस्यता नविकरण तथा अधिवेशनहरु सम्पन्न गर्न निर्देशन दिए । पालिका कमिटीका अध्यक्ष र सचिवहरुसमेतको सहभागिता रहेको वैठकले पार्टी सदस्यता नविकरण साउनको १० गतेभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो ।