विराटनगर । लगातार चार पटक अवरुद्ध भएको प्रदेश १ प्रदेशसभा बैठक आजदेखि सुचारु भएको छ ।
यसअघि माओवादी केन्द्रको अवरोधका कारण् प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भएको थियो । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै मन्तव्य दिएका थिए । यसपछि माओवादी केन्द्रले मन्त्रीले आफ्नो बोली फिर्ता लिँदै माफी माग्नु पर्ने र संसदको रेकर्डबाट उनको भाषण हटाउनु पर्ने माग गर्दै आएको थियो ।
माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै सभामुख प्रदीपकुमार भण्डारीले आजको प्रदेशसभा बैठक सुरु भएलगत्तै मन्त्रीले सांसदमाथि लान्छित गरेर बोलेको रेकर्ड हटाइने जानकारी दिएका थिए ।
आजको संसद् बैठक बस्नुअघि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । त्यसलगत्तै दलका नेताहरुबीच भएको छलफलले सदन सुचारु गराउने सहमति भएको हो ।