पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा हिंसापीडित बनेकी एक महिला र उनकी छोरीलाई आज उद्धार गरी उनीहरुको संरक्षण तथा उपचारका लागि माइती नेपाल विराटनगरमा पठाइएको छ ।
श्रीमानको लगातारको पिटाइबाट ४ वर्षे छोरी र आफू विक्षिप्त सरह भइ वेसहारा बनेको अवस्थामा स्थानीय अर्जुन काफ्लेले फेला पारी उद्धार गरेर नगरपालिका कार्यालयमा पुर्याएका थिए । नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वाँस्तोलाको अगुवाईमा घाइते अवस्थाका तत्काल प्राथमिक उपचार गरी उनीहरुको संरक्षण तथा उपचारका लागि नगरको एम्बुलेन्समा माइती नेपाल संस्था विराटनगरमा पठाइएको हो ।
पथरी शनिश्चरे २ लिच्चीडाँडामा बसोबास गर्ने २२ वर्षीया महिलामाथि श्रीमानले मादक पदार्थ सेवन गरी लगातार कुटपिट गरेका कारण मानसिक रुपले समेत त्रसित बनेको देखिएकाले उनका श्रीमानको खोजी गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइने नगर उपप्रमुख बाँस्तोलाले बताइन् ।
यसैबीच, आज अर्की पीडित महिलाको जिविकोपार्जनका लागि नगर अन्तर्गत सञ्चालित वंगुर पकेट कार्यक्रमबाट उपहार प्राप्त २० हजार मुल्य पर्ने २ वटा सँुगुरका पाठा वितरण गएिको छ । श्रीमानबाट पीडित बनेर एकल रुपमा बस्दै आएकी वडा नम्बर ४ किर्तिपुरकी उनलाई नगर उपप्रमुख यमुना विष्ट बाँस्तोला, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितले सुँगुरको पाठा वितरण गरे ।
उपप्रमुख बाँस्तोलासहितले रकम सहयोग गरेर यसअघि किर्तिपुरमा उनको चटपटे पसल खडा गरिएको थियो । कोरोनाका कारण चटपटे व्यवसायमा समस्या आएपछि उनलाई जिविकोपार्जनमा समस्या पर्दै आएपछि व्यवसायमा थप सहयोग पुर्याइएको हो ।