नयाँ डिआइजिको प्रतिबद्धता, ‘तस्करसँग मिले तुरुन्तै कारवाही’

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूण कुमार बिसीले खुल्ला सीमाको फाइदा उठाउँदै तस्करीसँग मिल्ने प्रहरीहरूलाई तत्काल कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

एक हप्ता अगाडि सरूवा भएर प्रदेश १ मा आएका डिआइजी बिसीले पूर्ण रूपमा तस्करी नियन्त्रण गर्ने दाबी गर्दै तस्कारसँग मिल्ने जुनसुकै तहमा रहेका प्रहरी अधिकारी कारबाहीको दायरमा आउने बताएका हुन् ।

प्रदेश प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै डिआइजी बिसीले आफ्नो कार्ययोजनामा तस्करी नियन्त्रण प्रथामिकतामा रहेकोले चोरी, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने दाबी गरेका छन् । ‘प्रदेश १ मा रहेको भारतसँग सीमा जोडिने जिल्ला झापा, मोरङ र सुनसरी हो । बोर्डर जोडिएको जिल्लामा तस्करी हुने गरेको जनगुनासो आउने गरेको छ,’ उनले भने, ‘मेरो ब्रम्ह र क्षमताले भ्याएसम्म पूर्ण रूपमा तस्करी नियन्त्रणमा लागि पर्नेछु ।’

सुनसरी र मोरङमा सरूवा भएर पाँच दिन अगाडि आएका एसपीद्वय सञ्जय सिंह थापा र जर्नादन जिसी सामुन्ने डिआइजी बिसीले भने, ‘तस्करी नियन्त्रणमा मेरो कार्ययोजना अनुसार मुल मर्म र दिशा निर्देशन भएर लाग्नुपर्दछ ।’ बिसीले अपराध अनुसन्धानमा पारदर्शी, निष्पक्ष भएर अपराध नियन्त्रणमा आफु लागि पर्ने बताए । ‘अपराधरहित समाज निर्माण गर्नु मुख्य धेय हो,’ उनले भने, ‘आफ्नो कार्यकालभरी अपराध नियन्त्रणमा लागि पर्नेछु ।’

उनले प्रहरीलाई आर्थिक पारदर्शी कायम गराउन लागि पर्ने बताए । डिआइजी बिसीले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै प्रहरी सँधैभरी नागरिक मैत्री भएर काम गनुपर्ने बताए । ‘प्रहरी सँधैभरी नागरिक मैत्री भएर सेवा प्रदान गरिनुपर्दछ,’ डिआजी बिसीले भने, ‘मातहतमा सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री भएर सेवा दिन निर्देशन दिइसकेको छु ।’ प्रहरीले मानवअधिकार मैत्री भएर विपद व्यवस्थापनमा पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । उनले समाजमा शान्ति सुरक्षाको अवस्थालाई कायम गरेर कानुन कार्यान्वयन तथा अवैध गतिविधि नियन्त्रण गर्ने बताए ।

मोरङ प्रमुख हुँदाको साख प्रदेश प्रमुख हुँदा टिकाउलान् ?

इन्स्पेक्टरदेखि प्रहरी सेवामा प्रवेश गरेका बिसी एसपी रहँदा मोरङमा ११ महिना बसेका थिए । भद्र र शालिन स्वभाव तथा कानुन कार्यान्वयनमा निष्पक्ष रहने प्रहरी अधिकारी भनेर चिनिने बिसीले प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व लिएका हुन् ।

उनी मोरङको उर्लाबारीका सनम शाक्यको हत्या पछि तानिएको साढे ३३ किलो सुन तस्करी प्रकरणको सफल अनुसन्धान गरेका प्रहरी अधिकारी हुन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत डिआइजी बिसी पूर्वी नेपालका बारेमा निक्कै जानकार प्रहरी अधिकारी हुन् । प्रदेश १ का विभिन्न प्रहरी युनिटमा बसेर अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाका सवालमा कुशलतापूर्वक काम गरेको लामो अनुभव उनीसँग छ ।

उनी मोरङमा एसपी रहँदा धर्म, पेशा र राजनीतिसमेत जोडिएका विभिन्न एवम् जघन्य प्रकृतिका घटना त्यतिबेला भएका थिए । सबै चुनौतीलाई पार लगाएर अपराधिक घटनाको अनुसन्धानलाई सफल बनाएर निस्कर्षमा पु¥याउँदै मोरङबाट विदा हुँदा बिसीको चौतर्फी प्रशंसा भएको थियो ।

सोमबार, २१ असार, २०७८, साँझको ०६:२८ बजे

प्रतिक्रिया

  1. सफल कार्यकाल हार्दिक मंगलमय शुभकामना वास्तवमा सरलाई पूर्वी नेपालको मात्र होइन व्यापारिक पृष्ठभूमि भएको विराटनगर राजस्व असुलीमा पनि यो अभिव्यक्तिबाट पूर्ण सफलता प्राप्त हुने विश्वास लिनछु किनकि उहाँ काम गरेर देखाउन सक्ने व्यक्तित्व हुनुहुन्छ हजुरको जय होस मंगल् होस्

प्रतिक्रिया:

सम्बन्धित खवर