संसद विघटन मुद्दामा बहस सकियो, असार २८ गते फैसला आउन सक्ने

काठमाडौं । आउँदो असार २८ गतेका लागि संवैधानिक इजलासको मिति तोक्दै आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा पक्ष विपक्षको बहस सकिएको सर्वोच्च अदालतले जनाएको छ ।

इजलासको मिति ८ दिन पछि सारिएपछि सोही दिन फैसला आउन सक्ने आंकलन गरिएको छ । रिट निवेदकको पक्ष र विपक्षमा बहस र एमिकस क्युरीको राय सुनिसकेपछि सर्वोच्चले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकिएको हो ।

आज निवेदक तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की, कृष्णप्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिएका थिए ।

जवाफी बहसपछि एमिकस क्युरीले स्वतन्त्र राय दिएका छन् । एमिकस क्युरीबाट बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् । उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो । इजलासले रिट निवेदक र विपक्षीबाट असार १० गतेसम्म नै बहस नोट मागिसकेको छ ।

सोमबार, २१ असार, २०७८, साँझको ०६:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर