काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरु त्यसबाट फिर्ता नभए एमाले एक नरहने घोषणा गरेका छन् ।
पार्टी एकताको लागि भन्दै महाधिवेशन आयोजक समिति खारेज गरेर शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा ओलीले दुई दिनभित्र एमाले एक हुने कि नहुने छिनोफानो हुने बताएका हुन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदले हस्ताक्षर गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘यदि सोमवार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनको भनाइ थियो, ‘कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु भनेको पार्टी फुटको घोषणा हो ।’
विघटित प्रतिनिधिसभाका माधवकुमार नेपाल र झलनाथ खनालसहितका २३ सदस्यले देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पुनःस्थापना गर्न सर्बोच्चमा दायर रिटमा हस्ताक्षर गरेका छन् । यसअघि ओलीले हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा आउन आह्वान गरेपनि नेपाल पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।
माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै निवर्तमान सांसदलाई २ दिनको समय दिइएको बताएका थिए । त्यसपछि सम्बोधन गरेका ओलीले २ दिनभित्र एमालेको एकता छिनोफानो हुने बताएका हुन् ।
बैठकमा नेपाल पक्षका नेताहरु सहभागि भएनन् । महाधिवेशन आयोजक समिति खारेज गरे केन्द्रीय समिति बैठक बोलाइएको भएपनि त्यो एकलौटी भएको र पूर्वमाओवादीका नेताहरुलाई पनि समावेश गरिएकोले यो पूर्वएमालेको बैठक नभएको उनीहरुको भनाइ छ । गुटको बैठक भएकोले बैठकमा सहभागी नहुने निर्णय नेपाल पक्षले गरेको थियो ।