बक्राहाको ९ करोड कहाँ खर्च भयो ? (हेर्नुहोस् विवरण)

विराटनगर । २०७३ साल साउन ८ गते बक्राहा खोलामा आएको बाढी मानवस्तीमा पस्दा सो क्षेत्रका आधा दर्जन गाविसका मानिस प्रभावित भएका थिए । बाढीले १ हजार विघा खेतीयोग्य जमिनलाई बालुवामा परिणत गरेको थियो भने करिब ५ हजार बिघा जमिन डुबानमा परेको थियो । बक्राहा नदी पथरी शनिश्चरे ५ स्थित जयनगरमा तटबन्ध भत्काएर बस्तीमा पसेको थियो ।

त्यसयता पनि बक्राहा बाँध निर्माणका लागि करोडौं बजेट खर्च भइसकेको छ । तर, अझै बक्राहा नदी आसपासका बासिन्दा सुरक्षित बन्न सकेका छैनन् । बक्राहा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि झण्डै ३ अर्ब रुपैयाँ खर्च हुने कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाले जनाएको छ । यसअघि गरिएको डिपिआर रिपोर्टमा पनि उक्त विषय उल्लेख छ । तर, प्रत्येक वर्ष सरकारले बक्राहा नदी नियन्त्रणका लागि अत्यन्तै न्यून बजेट छुट्याउने गरेको छ ।

चालू आर्थिक वर्षमा कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका लागि सरकारले १८ करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये पनि बक्राहा नदी नियन्त्रणका लागि ९ करोड मात्रै विनियोजन गरिएको छ । उक्त आयोजनाका सब इन्जिनियर धिरज कर्णले अझै थुप्रै जोखिमयुक्त क्षेत्रमा बाँध निर्माण गर्न नसकिएको बताए । त्यति मात्रै होइन नदी नियन्त्रणका लागि भनेर खोलिएको कार्यालयका लागि आपतकालिन अवस्थामा खर्च गर्न आवश्यक बजेट पनि व्यवस्था गरिएको छ ।

बक्राहा नदी नियन्त्रण आयोजनाले यस पटक विभिन्न स्थानमा गरी २३ वटा बाँध निर्माण सम्पन्न गरेको छ भने ६ वटा बाँध निर्माणाधिन छन् । ९ करोड रुपैयाँले हालसम्म ४ दशमलव ८२ किलोमिटर तटबन्धन निर्माण र ४ दशमलव ८० किलोमिटर क्षेत्रमा रेभिडमेन्ट गरेको जनाएको छ ।

पथरी–शनिश्चरे ५ सुन्दरी चोकमा १५० मिटर, उर्लाबारी–३ मंगलबारेमा ७ सय मिटर, मिक्लाजुङ–६, न्यौपाने वस्तीमा ७ सय मिटर, रतुवामाई–१, सोनापुरमा ३६६ मिटर, सुनवर्षी–६ कयामीमा ६५० मिटर, सुनवर्षी ७, माल्दैया टोलमा ६३० मिटर, उर्लाबारी १ चिसापानीमा २०१ मिटर, मिक्लाजु– ६, मधुमल्ला जाँते पुलमा १२० मिटर, उर्लाबारी ४ आइतबारे, विशाल टोल, सिसौली, खैरेनीमा १७०२ मिटर, पथरी शनिश्चरे ३ लाटीहोलीमा ८३२ मिटर, रतुवामाई ९, बतासेमा १५० मिटर, उर्लाबारी ४ खैरेनीमा २६० मिटर, रतुवामाई ५ कसेनीमा ३५० मिटर, रतुवामाई ९ जयनगर र मुक्तिघाटमा ५४० मिटर, सुनवर्षी ६ धपटतालमा ३६६ मिटर, रतुवामाई ५ मुसहराभट्टामा ३६६ मिटर, रतुवामाई ९ धोद्रेमा ६४४ मिटर, रतुवामाई १ सोनापुरमा ४० मिटर, मिक्लाजुङ–६ का विभिन्न ठाउँमा ४१४ मिटर, मिक्लाजुङ ९ झाकटेमा ३९६ मिटर र रतुवामाई ९ धोद्रेमा ३२२ मिटर बाँध निर्माण भएको र कतिपय हुने क्रममा रहेको तथ्यांकमा उल्लेख छ ।

कोशी तथा बक्राहा नदि व्यवस्थापन आयोजना प्राविधिक शाखाका इन्जिनियर कृष्णप्रसाद खतिवडाले बक्राहाका लागि बजेट अत्यन्तै कम भएको बताए । उनका अनुसार बजेट खर्च शतप्रतिशत हुने पनि बताए । उत्तरपूर्वी मोरङको मधुमल्ला हुँदै दक्षिणतर्फ बग्ने बक्राहा खोलो पिराहा खोलाका रुपमा चिनिन्छ । यस खोलाको दीर्घकालिन समाधानका लागि सरकारले एकमुष्ट बजेट विनियोजन गरी बाँध निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

शुक्रबार, १८ असार, २०७८, बिहानको १०:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर