विराटनगर । व्यक्तिगत आलोचना र गालिबेइजतिमा उत्रिएपछि सभामुख प्रदीपकुमार भण्डारीले भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ बोल्दै गर्दा आइतबार प्रदेशसभाको बैठकमा चार पटक रुलिङ गरे ।
आफ्नो भनाइ छोट्याउनु भन्ने सभामुखको रुलिङलाई वेवास्ता गर्दै मन्त्री गुरुङले ओखलढुंगाका सांसद मोहनकुमार खड्कालाई सुध्रिएर आउनु भन्दै धम्कीसमेत दिएका थिए ।
तीन वर्षसम्म आफ्नो योजनाहरु के भए भनेर नहेरेको भन्दै मन्त्री गुरुङले सांसद खड्कालाई भिजन नभएको व्यक्ति भन्दै गाली गरे । ‘तपाई सुध्रिएर आउनु होला, तपाईंसँग भिजन नै छैन,’ मन्त्री गुरुङले भने ‘साँढे तीन वर्षसम्म के हेरेर बस्नु भयो ? आफूले दिएका योजनाहरु के भइरहेको छ भनेर हेर्नु पर्दैन ?’ उनले थपे ‘योजनाका लागि तपाईंले सचिवसँग समन्वय गर्नु पर्दैन ? मसँग समन्वय गर्नु पर्दैन ? मुख्यमन्त्रीसँग समन्वय गर्नु पर्दैन ?’ मन्त्री गुरुङले भनसुन र भेटघाट नगरेकै कारण बजेट नदिएको आशय प्रष्ट हुनेगरी भनाइ राखे ।
मन्त्रीले एकोहोरो व्यक्तिगत गालीमा केन्द्रित भएपछि सभामुख भण्डारीले मन्त्रीलाई आफ्नो भनाइ छोट्याउन रुलिङ गरे । उनले सभामुखको रुलिङलाई बेवास्ता गर्दै व्यक्तिगत आलोचनालाई जारी राखे । सभामुखले चार पटक रुलिङ गरेपछि बल्ला मन्त्री गुरुङले भनाइ टुंग्याए । त्यस क्रममा उनले आफूले ओखलढुंगाको विकास गर्न खोज्दा खड्काले आरिस गरेको पनि बताए । उनले भनसुन गरेर, भेटघाट र प्रभावित पारेर बजेट र योजना ल्याउनुपर्ने भन्दै सशर्त र समपुरक अनुदानमार्फत आफूले योजना लगेको बताए । उनले खड्कालाई पनि त्यसै गरी भनसुन गर्न र समन्वय गर्न सुझाए ।
जवाफ दिए रोष्ट्रममा गएको मन्त्री नै व्यक्तिगत गालीमा उत्रिएपछि जनता समाजवादी दलका नेता जयराम यादवले नियमापत्ति गरेका थिए । यादवको नियमापत्तिपछि सभामुख भण्डारीले मन्त्रीविरुद्ध रुलिङ गरेका हुन् ।
मन्त्री गुरुङलाई आफ्नो भनाई अन्त्य गर्न सभामुख भण्डारीले ५ पटकसम्म रुलिङ गरे । तर, सभामुखको रुलिङलाई वास्ता नगरि उनले भने सांसदमाथि आक्रोश जारी राखेका थिए ।
विनियोजन विधेयकको विषयगत छलफलका क्रममा पछिल्ला दुई वटा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजन माथि छलफल भएको थियो । छलफलमा बोल्ने शतप्रतिशत सांसदहरुले भौतिक पूर्वाधार विकास अन्तरगतको विनियोजनप्रति असहमति जनाउदै आलोचना गरेका थिए ।
त्यसै क्रममा आइबार ओखलढुंगाका सांसद मोहनकुमार खड्काले सरकारले ल्याएको बजेट मन्त्रीमुखी र दलालमुखी, गुट केन्द्रीत भएको टिप्पणी गरेका थिए । उनले भौतिकको विनियोजनमा ३७ करोड रुपैयाँ योजना विहीन रकम घुसाइएको भन्दै मन्त्रीमार्फत दुरुपयोग गर्ने उद्देश्यले राखिएको बजेट हटाइनु पर्ने बताएका थिए । उनले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा करोडौंको योजना गएको र भौतिक पूर्वाधार विकास मन्त्रीको क्षेत्रमा ५३ करोडको योजना लैजाँदा अरु कयौं क्षेत्रहरु योजनाविहीन भएको भन्दै आलोचना गरेका थिए ।
खड्काले ओखलढुंगाको एउटा पाटोको मात्र विकास गरेर समृद्धि आउँदैन भन्दै बजेटको आलोचना गरेका थिए । उनले विगतदेखि नै मन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा योजनाहरु जान नदिन भूमिका खेलेको भन्दै विरोध जनाएका थिए ।
सांसदहरुले उठाएका विषयमा लिखित भाषण पढेका मन्त्री गुरुङले लिखित भाषण सकिएपछि थप बोल्दै व्यक्तिगत गाली र लाञ्छनामा उत्रिएका थिए । उनले खड्काले आफूमाथि लाञ्छना लगाएको र चरित्र हत्या गरेको भन्दै भनाइ सुरु गरेका थिए ।