प्रदेश नामकरणको घनचक्कर र मुख्यमन्त्रीको ललीपप

 कुमार लुइँटेल

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका केही लोभलाग्दा विशेषता छन् । व्यक्तित्व खुल्ने उचित पोसाक, भद्र स्वभाव अनि शालीन देखिने अनुहार । विषयवस्तुको गाम्भीर्य प्रस्तुति, प्रविधिमैत्री र प्रयोगमा निपूर्ण । बाँकी मन्त्री र सांसदहरु डायरी डटपेनमा रुमल्लिरहँदा राई भने हरहमेसा ‘ट्याब्लेट’ प्रयोग गरिरहेका हुन्छन् । इन्टरनेटको निरन्तर उपयोगले विषय वस्तुहरुमा उत्तिकै अद्यावधिक रहनु उनको अर्को गुण हो । सोझै केन्द्रसम्मको दर्बिलो पकडले राजनीतिको ओज पनि बलियो देखिन्छ ।

प्रदेशसभाको चालू आठौं अधिवेशनसम्म आईपुग्दा सदनमा एक पटक पत्रकारलाई दोष थोपर्नुबाहेक राईको प्रस्तुति ‘निर्मम’ देखिएको छैन । प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा भएका गलफद्दी सम्बन्धी समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि खनिएका थिए, उनी । यद्यपि त्यतिबेला राजधानीको टुंगो लगाउन नसक्नु उनकै कमजोरी थियो ।

त्यसयता सदनभित्र र बाहिर पनि भद्र प्रस्तुतिको तारिफ विपक्षीले पनि गर्दै आएका छन् । बाह्य हिसाबले सवल व्यक्तित्व झल्काउने गुणहरु पर्याप्त देखिन्छन् । केन्द्रीय मन्त्री भईसकेको अनुभव छ । स्थानीय र केन्द्रीय राजनीतिको बोधले पनि खारिएका छन् । सोचअनुसार योजना अनि कार्यक्रमलाई मिहीन ढंगले प्रस्ताव र प्रस्तुत गर्नु, संकटका बेला आवश्यक समर्थन खोज्ने चार्तुय बल र पार्टी संकटका बेला बिलखबन्दमा परेकालाई आफूतिर तान्ने गुरुत्वबलको समेत प्रदर्शन गर्न सकेका छन् ।

‘तर, के हाम्रा मुख्यमन्त्रीका गुण यतिमात्र छन त ?’ कांग्रेस प्रमुख सचेतक केदार कार्कीको विश्लेषणलाई आधार मान्ने हो भने ‘पक्कै होइन ! नयाँ विषयलाई आकस्मिक रुपमा प्रस्तुत गरेर सबैलाई घनचक्करमा पारिदिने राईको गुणबारे बाहिर बिरलै चर्चा हुने गरेको छ ।’ यस्कै दृष्टान्त थियो जेठ ३० गते प्रदेशसभा बैठकमा ‘अचानक’ प्रस्ताव गरिएको प्रदेश नामको सवाल । ‘प्रदेशको नामकरण यही अधिवेशनबाट गरौं । बजेटमाथिको छलफल सकिएको भोलिपल्टैबाट काम थालौं,’ मुख्यमन्त्रीको यस्तै प्रस्ताव थियो । आफूलाई सहज बनाउन खोज्ने मानवीय स्वभाविक गुण राईमा पनि निहीत छन् ।

तर, अरुको सुझावलाई कमै मात्र ग्रहण गर्ने स्वभावका राईको बाह्य रुप अनि अन्तर्यको गुणधर्ममा भने आकास–जमिनको फरक देख्छन्, जसपाका सांसद जयराम यादव । उनको भनाईलाई सापटी लिने हो भने मुख्यमन्त्री राई बाहिर देख्दा, व्यवहार गर्दा र बोलिचालीमा जस्ता छन् भित्र पटक्कै छैनन् । ‘पेटमे खडे न सिङमे तेल’ भन्ने तराई–मधेशको उखान जस्तै ‘पेटमा के छ के ? थाहा छैन । तर, सिङमा चिल्लो तेलचाँहि दलेको देखिन्छ ।’

‘सदनमा मुख्यमन्त्रीको जतिबेरसम्म सम्बोधन सुन्छौ । निश्चय पनि आदिवासी जनजातिको छोराले सम्बोधन गरेको । यही माटो यही भूमिपुत्रका लागि संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो भन्ने लाग्छ । कता न कता विश्वास पनि लागेर आउँछ बोलीवचन सुन्दा । र, व्यवहारलाई हेर्दा चार वर्षमा धेरै निराशा पाइएको छ । विश्वास गर्नै सकिदैन्,’ यादवको कथन छ ।

‘भनाई एकातिर र काम गराई अर्कोतिर छ’ भन्ने सांसदहरु मात्र नभएर राईका दलका नेता, सांसद र निकटवर्ती हाक्काहाक्की सुनाउँछन् । सांसद यादवले प्रदेशसभा बैठकमा ‘चार वर्षको कार्यकालमा मुख्यमन्त्रीलाई सबैभन्दा बढी सल्लाह र सुझाव दिएको तर तपाईंले सदुपयोग गर्नु भएको छैन । हम त कहवे करबो तुँ न करवी त हम कि करवे ?’ भन्दै कटाक्ष गरे । विपक्षी दलले प्रदेश सरकारप्रति ‘शंकैशंका छ’ भन्नु स्वभाविक नै हो । तर, के मुख्यमन्त्रीले ‘हरेक अधिवेशनमा यही पटक टुंगो लगाउने छ’ भन्दै दोहोर्याउने गरेको प्रदेश नामको विषय यो पटक के होला ?

‘प्रधानमन्त्रीले नै प्रदेशको नामकरण रोक्नुभएको थियो । उहाँले गरेको नाम नेकपा संसदीय दलमा आएपछि हामीले हुँदैन भनेर असहमति जनाएका थियौं,’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले उबेला एउटै दलमा रहँदाको फेहरिस्त प्रदेशसभा बैठकमै सुनाए । ‘दुईतिहाई बलियो सरकार भएको बेला नटुङ्गिएको नाम अब कसरी पूरा होला ? के मुख्यमन्त्री आफ्नै कार्यकालमा प्रदेशले नाम पाओस भन्ने चाहन्छन् ? अथवा प्रधानमन्त्रीको निर्देशनलाई शिरोधार्य गर्दै अगाडि बढ्छन् ?’ धेरैको जिज्ञासा छ ।

भूगोल र जातीय पहिचान के हुने भन्ने घनचक्करबीच मुख्यमन्त्रीले देखाएको नामकरणको ललीपपले दलहरुमा बहस भने पक्कै छेडिएको छ । ‘हामीले पनि विगतमा समर्थन गरेकै हो । घमण्ड नगरौं, आफ्नो रुप र रंगको । मयुरलाई पनि उसको प्वाँखको बोझले नै धेरै उचाईमा उड्न दिंदैन । एमालेलाई दुईतिहाई नपचेकै हो’ जसपा सांसद यादवको भनाई छ ।

आफ्नै कार्यकालमा नामकरण टुंगोमा पुगे त्यसको जस लिने अनि नपुगे आफूले प्रस्ताव गरेको तर दलहरुले सहमति नजुटाएर नसकिएको भन्ने आधार खडा गर्नकै लागि पनि ‘यही अधिवेशनबाट टुंगोमा पु¥याऔं भन्ने प्रस्ताव गरेको’ राजनीतिक विश्लेषण हुन थालेको छ ।

यद्यपि एक पटक मुख्यमन्त्रीको कुर्सीमा विराजमान भएर इतिहास रच्न इच्छा गरेका एमाले नेता भीम आचार्यलाई ‘सत्ता हस्तान्तरण गर्ने’ अड्कलबाजीबीच राईले प्रदेशको नाम टुंगो लगाउँछन् वा के गर्छन टुंगो छैन । तर, ‘कोशी, सगरमाथा, कोसी–किरात, किरात, विराट, कोचिला, लिम्बुवान वा खम्बुवान प्रदेश १ ले के नाम पाउला ?’ उत्तर पनि त्यति सहज छैन ।

शनिबार, ०५ असार, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर