विराटनगर । पूर्वाधार निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा जुर्मुराउने र गुणस्तरहीन काम गर्दै आलोचित हुने चलन पछ्याउँदै विराटनगर महानगरपालिकाले ‘असारे विकास’ लाई निरन्तरता दिएको छ ।
चालु आर्थिक वर्ष समाप्त हुन महिना दिन पनि बाँकी नभएका बेला महानगरले भने धमाधम निर्माण कार्य गरिरहेको छ । हतारमा बजेट सिध्याउन आर्थिक वर्षको अन्त्यमा काम गर्दा कुनै पनि पूर्वाधार गुणस्तरीय नबन्ने विज्ञहरुले बताउँदै आएका छन् । यसरी भएका कामको परिणाम विराटनगरमै पनि राम्रो देखिएको छैन । विराटनगरमा पक्की सडक भासिएको, प्वाल परेको दृश्य बर्षेनि देखिने गरेको छ । सर्वसाधारणले पनि आलोचना गर्दै आएका छन् ।
यद्यपि ती आलोचनाका बाबजुद महानगरले अव्यवस्थित रुपमा मापदण्ड विपरित सडक निमार्णलाई पुन: तीव्रता दिएको छ । महानगरपालिकाले वडा नंं २ स्थित स्वस्तिक मार्गमा रहेको बिजुलीको पोल (खम्बा) लाई व्यवस्थापन नगरी सडक कालोपत्रे गर्ने कार्य अघि बढाएको छ । असार १५ मा बजेट फ्रिज हुने भएपछि महानगरले हतारहतार सडक कालोपत्रे थालेको हो । सडक कालोपत्रेका लागि विनियोजन भएको बजेट महानगरले बल्ल खर्च गर्दैछ ।
महानगरको नगरविकास योजना अन्तर्गत आर्थिक बर्ष २०७६/०७७ मा स्वस्तिक मार्गमा नाला निर्माणका लागि २९ लाख १२ हजार ६ सय २६ र २०७७/०७८ मा सडक कालोपत्रेका लागि १० लाख रुँपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, वर्षभरि काम नगरेर आर्थिक वर्षको अन्त्यमा हतारहतार जथाभाबी सडक कालोपत्रे गर्ने कार्य सम्पन्न गर्न खोजिएको स्थानीय हरिप्रसाद लुँईटेलले बताए । ‘वडा कार्यालयमा धेरैपटक भनियो तर सुनुवाई भएन, उनीहरुको मनसाय हामीले पोल सार्ने बजेट किन हाल्ने हो भन्ने रहेछ,’ उनले भने, ‘यसरी पोल नसारी सडक पिच गर्दा सडक साँघुरो हुनुका साथै भबिष्यमा दुर्घटनाको जोखिम उच्च हुने देखिन्छ ।’
आउँदो आर्थिक बर्षभित्रै जनप्रतिनिधिहरुको कार्यकाल पनि समाप्त हुने भएकाले हतारहतारमा काम सक्न खोजिएको कतिपय स्थानीयले आशङका समेत गरेका छन् । नक्साङ्कन अनुसार १४ फिट चौडाईमा कालोपत्रे हुनुपर्ने सो सडकमा हाल ट्रान्सफर्मर र ११ हजार के.भी. प्रसारण लाईनको ३ वटा बिजुलीका पोलहरु छन् । स्वस्तिक मार्गको पूर्वतर्फ रहेका ३ वटै बिजुलीका पोलहरु सडक क्षेत्रभित्र पर्छ । पटकपटक भन्दा पनि सडकबाट बिजुलीको पोल स्थानान्तरण नगरिकनै बाटो पिच गर्ने प्रक्रिया थालिएको स्थानीय लालबहादुर सुवेदीले बताए ।
सडक विस्तारका क्रममा अवरोधको रुपमा रहेको बिजुलीको पोल सार्न योजनाको प्रकृतिको आधारमा स्थानीय बासिन्दा, वडा कार्यालय वा सडक डिभिजन कार्यालयबाट सम्बन्धित प्राधिकरणमा निवेदन पठाउनुपर्छ । निवेदन प्राप्त भएपछि विद्युत प्राधिकरणले आफ्नो ईन्जिनियर पठाएर सोे कार्यको लागत इस्टिमेट तयार पार्छ । लागत इस्टिमेट तयार पारिसकेपछि सो अनुसारको रकम प्राधिकरणको धरौटी खातामा जम्मा भइसकेपछि मात्र प्राधिकरणले क्षेत्रीय कार्यालय वा केन्द्रिय कार्यालयको स्वीकृतिमा पोल सार्ने काम सुरु गर्दछ । ११ हजार के.भी. प्रसारण लाइनको पोल सार्न काठमाडौंस्थित कार्र्यालयबाट स्वीकृति लिनुपर्छ भने ४४० तथा २३० के.भी. प्रसारण लाइनको पोल सार्न प्राधिकरणकोे क्षेत्रीय कार्यालयबाट स्विकृति लिनुपर्छ ।
स्थानीयको दबाबपछि जेठ २७ गते वडा नं. २ को कार्यालयले पनि स्वस्तिक मार्गको बिजुलीको स्थानान्तरण गर्ने बिषयमा नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रलाई चिठी पठाएको थियो । वडा कार्यालयको चिठी प्राप्त भएसँगै विद्युत प्राधिकरणले इन्जिनियर खटाएर पोल स्थानान्तरणका लागि कुल १ लाख ८० हजार ८ सय ८१ रुपैयाँको लागत इस्टिमेट तयार पारेको थियो । प्राधिकरणले यसबारे वडा नं. २ का अध्यक्ष कुमार पोखरेललाई जानकारी समेत गराएको थियो । तर प्राधिकरणको खातामा पैसा जम्मा नगरिदिएपछि बिजुलीको पोल सार्न नसकिएको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहिवारले बताए ।
यता वडा कार्यालयसँग पोल सार्ने बजेट नभएपछि निर्माण कार्य प्रभावित नहोस भनेर मात्रै पोल नसारी सडक निर्माण अघि बढाइएको वडा नं. २ का वडाध्यक्ष पोखरेलले बताए । ‘हामीले पठाएको चिठीको आधारमा प्राधिकरणबाट लागत इस्टिमेट प्राप्त भइसकेको छ,’ उनले भने, ‘तर, हामीसँग बिजुलीको पोल सार्ने पैसा छैन् । ३ वटा पोलले गर्दा सबैलाई दुःख दिनु त भएन । त्यसैले सडक कालोपत्रेको प्रक्रिया अघि बढाएका हौं ।’
असार १ गतेपछि स्वस्तिक मार्गमा सडकको बेस बनाउने कार्य सुरु भएको हो । हाल अन्य सम्पुर्ण काम सकेर सडक कालोपत्रे गर्न मात्र बाँकी छ । वडा कार्यालयले ध्यान नदिँदा हाल मापदण्ड विपरित सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ । स्थानीयको जनगुनासो बढदै गएपछि मात्र हाल महानगरपालिका भने पोल स्थानान्तरण गरेर सडक कालोपत्रे गर्ने बिषयमा सकारात्मक देखिएको छ । महानगरका शहरी विकास तथा योजना महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेलले पोल स्थानान्तरणका लागि महानगरबाटै आवश्यक बजेट सुनिश्चित गरिने बताए । उनले पोल सारेर मात्रै पडक कालोपत्रे हुने आश्वासन दिए । ‘आइतबारसम्म प्राधिकरणको लागत इस्टिमेटसहितको फायल हामीलाई प्राप्त भइसक्छ,’ उनले भने, ‘फायल प्राप्त भएसँगै आवश्यक प्रक्रिया अघि बढाउँछौं । आवश्यक परे मेयर साबसँग समेत छलफल गरेर बजेटको प्रबन्ध मिलाउँछौं ।’
हाल वडा नं. २ स्थित स्वस्तिक मार्गको पोल सार्न विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयले स्वीकृति दिईसकेको भएपनि वडाले पैसा तिर्न नमान्दा मापदण्ड विपरित सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ । सडकको दुवैतर्फ भने नाला निर्माण र ग्राभेल गरेर बेस मिलाउने कार्य सम्पन्न भइसकेको छ ।