पूर्व अर्थमन्त्री इन्द्र आङ्बोको बजेटबारे ६ टिप्पणी : ठोस उपलब्धि नहुने र लक्ष्यमा नपुग्ने

विराटनगर । प्रदेश १ सरकारले आज संसदमा प्रस्तुत गरेको बजेट ठोस उपलब्धि नहुने र लक्ष्यमा नपुग्ने खालको रहेको पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले टिप्पणी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा बजेटबारे विभिन्न ६ बुँदामा आङ्बोले टिप्पणी गरेका हुन् । ‘कोरोनाको प्रभावको कारण चालू आर्थिक वर्ष १.१८ प्रतिशतले ऋणात्मक रहेको आर्थिक वृद्धिदर बजेटमा आर्थिक पुनरुत्थानको कार्यक्रम नै नराखी अर्थतन्त्र चलायमान नै नगरी आगामी आ.ब.को आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान असम्भव र हास्यास्पद छ,’ उनले गरेको टिप्पणीको पहिलो बुँदामा उल्लेख छ । यस्तै आङ्बोले प्राथमिकता भनिएको स्वास्थ्य क्षेत्रमा संघीय सरकारको अनुदान बाहेक स्वास्थ्य क्षेत्र, अस्पतालको सुदृढीकरण र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन नगरेको र केवल शैया थप्ने हल्ला मात्र गरिएको बताउँदै कोरोना रोकथाम नियन्त्रण र उपचारको ठोस कार्यक्रम बजेटमा नआएको आरोप लगाएका छन् ।

‘चालू आयोजनाहरू, बहुबर्षीय आयोजना र रुपान्तरणकारी आयोजनाहरुमा अति न्यून बजेट छुट्याइएको छ । अपेक्षित विकास र पूर्वाधार निर्माणको काम हुने देखिन्न’, उनले गरेको अर्को टिप्पणी छ, ‘उत्पादन वृद्धि, रोजगारी सिर्जना र उत्पादित वस्तुको बजारीकरणको ठोस योजना छैन, केवल विचौलिया पोस्ने कार्यक्रम कृषि क्षेत्रमा देखियो ।’

आङ्बोले संघीय बजेटको नक्कल गरिएको आशंका समेत गरेका छन् । ‘कहीं संघीय बजेटको भद्दा नक्कल, कतै स्थानीय तहको क्षेत्राधिकारको कार्यक्रम समावेश गरिनु सुनेजति सबै कार्यक्रम बजेटमा समावेश गरिनुले कार्यवन्यन गर्ने निकाय संयन्त्र र स्रोतको अभावले कार्यान्वयन योग्य र सम्भव दुबै हुँदैन,’ उनले भनेका छन्, ‘चालू आर्थिक वर्षमा गर्ने विकास निर्माणलगायतको काम अगाडि बढाउन ध्यानाकर्षण गर्दा स्रोतको अभाव देखाउने सरकारले २ अर्बभन्दा बढी नगद मौज्दात रहने प्रक्षेपण गर्नु नै लज्जास्पद छ।’

प्रदेश सरकारका तर्फबाट आज टंक आङ्बुहाङ लिम्बूले आर्थिक बर्ष २०७८–०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएका छन् । मन्त्री आङ्बुहाङद्वारा प्रस्तुत बजेटमा चालु खर्चतर्फ १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्चतर्फ १५ अर्ब ५ करोड ३५ लाख, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख र वित्तीय व्यवस्थापन तर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मङ्गलबार, ०१ असार, २०७८, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर