बजेट निर्माणमा मुख्यमन्त्रीकै सक्रियता

सरकारले करिव ३४ अर्बको बजेट ल्याउँदै

विराटनगर । प्रदेश १ सरकारले आज प्रदेशसभामा आगामी वर्ष २०७८/७९ को वार्षिक अनुमान (बजेट) पेश गर्दैछ ।

प्रदेश सरकार स्थापना भएपछि एउटा आंशिक र तीन वटा पूर्ण बजेट ल्याएको प्रदेश सरकारले चौथो पूर्ण बजेट प्रस्तुत गर्न लागेको हो ।

कोरोना महामारीको बेलामा स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार गर्ने गरी प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको थियो ।

प्रदेश सरकारले आगामी वर्षका लागि करिव ३४ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु र सरकारका निकायहरुलाई ३२ अर्बको सीमा भित्र रहेर कार्यक्रमहरु पेश गर्न भनेको थियो । सोही अनुसार मन्त्रालयहरुबाट सोमबार साँझसम्म सबै योजनाहरु प्राप्त भएको बताइएको छ ।

अघिल्लो वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको सिलिङको दोब्बर भन्दा धेरै योजना पेश गरी घटाउन नमानेको भौतिक पूर्वाधार विकास मन्त्रालयले यस पटक भने सीमाभित्रै रहेर आफ्नो कार्यक्रम पेश गरेको छ ।

आर्थिक मामिला मन्त्री नयाँ भएका कारण यस पटक मुख्यमन्त्री स्वयं बजेट निर्माणमा सक्रिय भएका छन् । आर्थिक मामिला मन्त्रालयका सचिव र मुख्यमन्त्री शेरधन राई केही दिनदेखि बजेट तयारीमा जुटेका थिए ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मङ्गलबार, ०१ असार, २०७८, बिहानको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर