उदयपुर । उदयपुरको बेलका नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका लागि ‘अक्सिजन प्लान्ट निर्माण सम्झौता’ गरेको छ ।
निर्माण कम्पनी पिडी इन्जिनियरिङ प्रालि काठमाडौं र बेलका नगरपालिकाबीच प्लान्ट निर्माणको सम्झौता भएको हो ।
नगर प्रमुख दुर्गाकुमार थापा र निर्माण कम्पनीका तर्फबाट धर्मराज पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि पहिलो किस्तावापत् नगरपालिकाले निर्माण कम्पनीलाई ५८ लाख ५० हजार नगद भुक्तानी गरेको छ ।
दैनिक ३८ सिलिन्डर (११ सय ५० मिटर क्युबिक प्रतिघन्टा) उत्पादन क्षमता रहेको अक्सिजन प्लान्टको लागि उदयपुरका ४ नगरपालिकाबाट १० लाखका दरले रकम संकलन गरिएको छ भने गाउँपालिकाबाट ५ लाख रुपैयाँ संकलन गरिएको नगर प्रमुख थापाले बताए । प्रदेश २ को सप्तकोशी नगरपालिका र विभिन्न संघसंस्थाको पनि प्लान्ट निर्माणमा सहयोग रहने उनले बताए ।
निर्माण कम्पनीका म्यानेजिङ डाइरेक्टर पौडेलले सम्झौता अबधिअगावै प्लान्ट निर्माणको कार्य सम्पन्न गरेर नगरलाई हस्तान्तरण गर्ने बताए ।
अक्सिजनको चरम अभावका कारण पछिल्लो समय कोरोना संक्रमितलाई बचाउन समस्या भइरहेकोले नगरपालिकाले ‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयू’ भन्ने नाराका साथ अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।
निर्माण कम्पनीले ३५ दिनभित्र प्लान्ट निर्माण गरेर हस्तान्तरण गर्ने सम्झौता छ । बेलकामा अक्सिजन प्लान्ट स्थापना भएपछि उदयपुरसँगै सुनसरी, सप्तरी, सिराहा, भोजपुर, खोटाङलगायतका जिल्लामा समेत आपूर्ति गर्न सकिने विश्वास लिइएको छ ।