सञ्चालक कार्कीले भने सोमबार पैसा फिर्ता गर्छु
उर्लाबारी । सुनसरीको इटहरीस्थित मोभिरा एचआर ओभरसिजले बैदेशिक रोजगारीमा पठाउने प्रभोलनमा पारी तीन युवालाई ठगेको रहस्य खुलेको छ ।
शुक्रबार मोरङको उर्लाबारीमा पत्रकार भेटघाट कार्यक्रम गरी पीडितहरुले बैदेशिक रोजगारीका लागि दुबई लैजाने भनेर ओभरसिजका सञ्चालक किरण कार्की भनेर चिनिने रामचन्द्र कार्कीले प्रतिब्यक्ति ८४ हजार ५ सय रुपैयाँ ठगेको बताएका छन् ।
सञ्चालक कार्कीले कानेपोखरी गाउँपालिका १ होक्लाबारीका हरि बराल, सोही ठाउँका उमेश चौधरी र बेलबारी नगरपालिका –७ बाहुनीका मौसम चौधरीलाई दुवई लैजाने भनेर सो रकम ठगेको पीडितहरुले बताएका छन् । कार्कीले तीनै जनालाई रकम फिर्ताका लागि एनआईसी एसिया बैंकको चेक थमाएका थिए । तर, उक्त चेकमा रकमसमेत नभएको पाइएको छ । कार्कीलाई चेकमा पैसा नभएको जानकारी गराउँदा पटक–पटक आइएमईमार्फत पठाउने आश्वासन पाएपनि हालसम्म रकम नपाएको पीडित हरि बरालले जानकारी दिनुभयो ।
गत साउनमा बैदेशिक रोजगारीका लागि दुबई जानका लागि मोविरा एचआर ओभरसिज पुगेका तीनै जनालाई पहिलो चरणमा ४० हजार रुपैयाँ मागेको थियो । उनीहरुले ४०÷४० हजार रुपैयाँ ओभरसिजका सञ्चालक कार्कीलाई बुझाएका थिए । त्यसको एक महिनाभित्र विदेश पठाउने सञ्चालक कार्कीले बताएका थिए । एक महिनापछि भिषा लागेको भन्दै पुनः ४० हजार रुपैयाँ लिएर आउन सञ्चालक कार्कीले बताएको अर्का पीडित मौसम चौधरीले बताउनुभयो ।
नक्कली भिषा देखाएर ४० हजार रुपैयाँ दोस्रो पटक सञ्चालक कार्कीले रकम असुलेका थिए । त्यसपछि पनि पटक–पटक भाका सार्दै विदेश पठाउने बताइरहे । तर, हालसम्म तीनै जनाले न पैसा फिर्ता पाए न त विदेश नै पुगे । यतिबेला तीनै जना पीडितहरु रकम फिर्ताका लागि गुहार मागिरहेका छन् ।
श्रम कार्यालय विराटनगर तथा प्रहरी कार्यालयमा समेत पुग्दासमेत न्याय नपाएको उनीहरुको भनाई छ । यसबिषयमा सञ्चालक कार्कीसँग फोन सम्पर्कमा कुरा गर्दा सोमबारभित्रमा जसरी पनि रकम फिर्ता गर्ने बताउनुभएको छ । पीडितहरुले भने सोमबारसम्म रकम फिर्ता नगरे कानूनी कार्वाहीमा जाने बताएका छन् ।