उर्लाबारी । कोरोना महामारीको पहिलो लहरमा तुलनात्मक रुपमा सुरक्षित रहेको मोरङको उर्लाबारी नगरपालिका दोस्रो लहरले भने नराम्ररी प्रभावित बनेको छ ।
यहाँ अहिले संक्रमण समुदाय स्तरमै फैलिएको छ । दिनहुँ यहाँ संक्रमित थपिइरहेका छन् । हालसम्म लगभग पौने तीन सय जना संक्रमित पुगेका छन् भने डेढ दर्जनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । १ सय ७ जना संक्रमणमुक्त भएको नगरपालिकाले जनाएको छ ।
संक्रमण रोकथाम र नियन्त्रणमा प्रदेश र संघीय सरकारसँग समन्वय र नीजि क्षेत्रसँग सहकार्यमा संक्रमण रोक्न नगर लागिपरेको उर्लाबारी नगरपालिका प्रमुख खड्ग बहादुर फागो बताउँछन् ।
‘कन्ट्याक टे«सिङ, पिसीआर परीक्षण र एन्टिजेन परीक्षणदेखि संक्रमितको उपचार गर्न आइसोलेसन बनाउने कामहरु गरेका छौं,’ प्रमुख फागोले भने, ‘विदेशबाट आएकाहरूलाई आइसोलेट भएर बस्न आग्रह गर्दै आएका छौंै ।’ अस्पतालमा शैय्या भरिएर बिरामीले उपचार पाउन छोडेपछि उर्लाबारी–८ राजघाटमा रहेको स्वास्थ्य चौकीमा ११ शैय्याको अक्सिजनसहितको कोभिड अस्पताल निर्माण गरेर संचालनमा ल्याएको छ । अक्सिजन अभावमा संक्रमितहरुले अकालमै मृत्युवरण गरिरहेका बेला उपचार नपाएर कसैको ज्यान जान नदिन अक्सिजनसहितको कोभिड अस्पताल संचालनमा ल्याएको उर्लाबारीका प्रमुख फागोले बताए ।
‘उर्लाबारीमा पनि संक्रमण बढ्दै गएको छ । उपचार नपाएर मृत्यु भएका घटना पनि सुन्दै आएका छौं । त्यही भएर हामीले अहिले तत्काल अक्सिजनसहितको ११ शैय्याको अस्पताल संचालनमा ल्याएको हौँ,’ उनले भने, ‘आवश्यकताअनुसार थप गर्दै लैजाने योजना बनाएका छौं ।’ कोभिड अस्पतालको सबै बेडमा अक्सिजन जडान गरिएको नगरपालिकाले जनाएको छ । राजघाटमा संचालनमा आएको अस्पतालमा प्रत्यक्ष रूपमा डाक्टर र स्वास्थ्यकर्मीहरूको उपस्थितमा संक्रमितको उपचार हुने गरेको छ । दुई जना मेडिकल अधिकृत रहेका छन् । ६ जनाको टिम रहेको छ ।
यस्तै उर्लाबारी– ३ मंगलबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पनि १२ शैय्याको कोभिड अस्पताल संचालनमा आएको छ । उर्लाबारीमा संक्रमण बढ्न थालेपछि निजी स्तरबाट पनि कोभिड अस्पताल संचालनमा आएको छ । उर्लाबारीस्थित गोदावरी हस्पिटलले पनि १० शैय्याको कोभिड अस्पताल संचालनमा ल्याएको छ । नगरपालिकाले बनाएको आइसोलेशन र होम आइसोलेशनमा बसेका संक्रमितलाई गाह्रो भएर थप उपचारको लागि ठूला हस्पिटल लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा सुचारू गरेको छ । ‘कुनै पनि संक्रमितलाई थप उपचारको लागि ठूलो अस्पताल भर्ना गर्नु प¥यो भने नगरपालिकाले एम्बुलेन्स राखेको छ,’ नगरप्रमुख फागोले भने । नगरपालिकाले शव व्यवस्थापनको लागि शववाहान पनि राखेको छ । भाडामा गाडी लिएर शवबहान बनाएको छ । नगरभित्रका संक्रमित कुनै अस्पतालमा मृत्यु भए नगरपालिकाले दाहासंस्सार गर्ने ठाउँसम्म पु¥याउने गरेको छ ।
मेयर आफै शव व्यवस्थापनमा
कोरोना संक्रमणले गत बुधबार मृत्यु भएका उर्लाबारी–२ घर भई तत्कालीन उर्लाबारी गाविसका उपाध्यक्ष ६७ वर्षीय कुमार धिमालको शव व्यवस्थापनमा प्रमुख फागो आफैं खटिए । पीपीई लगाएर फागो आफै संक्रमितको शव व्यवस्थापनमा खटिएका थिए । २०५४ सालमा उर्लाबारी गाविसमा नेकपा एमालेबाट उपाध्यक्ष निर्वाचित भएका धिमालको कोरोना संक्रमणका कारण झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा बुधबार मृत्यु भएको थियो ।
कोरोना संक्रमणले मृत्यु भएपछि आफन्त पनि टाढा बस्ने र परिवारका २÷४ जना सदस्य मात्रै नजिक बस्ने गरेकाले सामाजिक उत्तरदायित्व सम्झेर आफैं पीपीई लगाई धिमालको शव व्यवस्थापनमा जुटेको उनले सुनाए । समाजका अगुवा व्यक्तित्व गुमाएको अवस्थामा परिवारको सदस्यलाई साथ र सहयोगका साथै मनोबल बढाउन र सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नका लागि शव व्यवस्थापनमा खटेको उनको भनाइ छ ।
कोरोना महामारीले यतिबेला समाजका व्यक्तिहरुमा सामाजिक उत्तरदायित्वको भावना समेत हराएको अवस्था रहेको फागोले बताए । ‘कोरोना संक्रमणले मृत्यु भएका परिवारजनलाई अहिले समवेदना प्रकट गर्नेसम्म पनि कोही नजाने गरेको अवस्था छ,’ प्रमुख फागोले भने, ‘स्वास्थ्यसम्बन्धी सुरक्षात्मक उपाय अपनाएर भए पनि संक्रमितको हौसला बढाउनु पर्ने बेलामा अहिले समाजमा उल्टै हेला गर्ने गरेको अवस्था छ ।’ आफैंले संक्रमितको शव व्यवस्थापनमा खट्दा अन्य सर्वसाधारणमा पनि भएको डर त्रास न्यूनीकरण हुने देखिएको उनको भनाइ थियो ।