विराटनगर । सर्वसाधारणले खोप नपाएको बेला विराटनगरमा पहुँच पुगेका सत्तारुढ दल नेकपा एमालेका कार्यकर्ता र उद्योगी व्यापारीलाई गोप्य रुपमा कोरोना विरुद्धको खोप दिएको पाईएपछि तनाव उत्पन्न भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्री उषाकला राईले आफूनिकटका मान्छेलाई लुकाएर कोभिसिल्ड खोपको दोस्रो डोज दिएको थाहा पाएपछि लफडा भएको हो । सत्तारुढ दल एमाले निकट कार्यकर्ता र केही उद्योगी व्यवसायीलाई विराटनगरको एक सिनेमा हलमा खोप दिएको थाहा पाएपछि स्थानीयबासीले विरोध जनाएका थिए ।
शुक्रबार विराटनगर–२ तिनपैनीस्थित सिटी सिनेमा हल परिसरमा पहुँच पुगेकाहरुलाई मात्र कोरोना विरुद्धको दोश्रो डोज दिईएको पाईएपछि स्थानीय आक्रोशित भएर नाराबाजी गरेका थिए । सिनेमा हल परिसरमा वडाक्षेत्र बाहिरका व्यक्तिहरुको चहलपहल बढ्न थालेपछि स्थानीयले सो बिषयको सुईको पाएका थिए । बिनाकुनै जानकारी अग्रपङ्तिमा नखटिएकाहरुले पनि खोप लगाएको पाईएपछि स्थानीयले विरोध गरेका हुन् ।
एमाले समर्थक कार्यकर्ता र केही उद्योगी तथा कर्मचारी खोप लगाउन अपरान्ह विराटनगरको तीनपैनी चोकमा पर्ने सिटी सिनेमा हल पुगेका थिए । करिब ३ सय जनालाई खोप लगाउने कार्यक्रम रहेकोमा डेढ सय बढीलाई खोप लगाएपछि स्थानीयको अवरोधका कारण खोप लगाउने कार्यक्रम बिथोलिएको थियो ।
नेकपा एमालेका कार्यकर्ताले सिनेमा हलको गेटमा ताल्चा लगाएर आफ्ना मान्छे मात्र पसाउन थालेपछि सर्वसाधारणले नाराबाजी गर्दै विरोध गरे । मन्त्रीको रोजाइमा परेका केही उद्योगी–व्यवसायी गाडी लिएर सिटी सिनेमा हलको गेटमा पुगेका थिए । व्यापारीका निजी गाडीको लर्काे लागेपछि खोपको पर्खामा रहेका स्थानीयवासीले चासोसाथ सोधीखोजी गर्दा खोप लगाउन लागेको खुलेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयले सिटी सिनेमामा खोप दिन जानु भन्ने मन्त्रीको निर्देशन आएपछि १५० जनालाई खोप दिएको जनाएको छ । मोरङ जनस्वास्थ्य कार्यालयका खोप प्रमुख रमानन्द यादवले मोरङमा पहिलो डोज लगाएकाहरूको दोस्रो डोज लगाउने अवधि सकिदै गएको बेला मन्त्रीज्यूको सिफारिसमा दोस्रो डोज लगाउने काम भएको बताए ।
स्थानीयले भने आफुहरुले खोप नपाएको तर, सरकारले पहुँचवालालाई मात्र खोप दिएको भन्दै सरकार विरुद्ध नाराबाजी गरे । ‘प्रदेश सरकारले गोप्य रुपमा पहुँच भएकालाई मात्र खोप दिएपछि हामी आक्रोशित भएका हौं’, स्थानीय पंकज वर्माले भने, ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाईकर्मी सहितका फ्रन्टलाईनरलाई खोप लगाएको भए हामी स्वागत गर्थ्यौं ।’
प्रदेश सरकार र प्रहरीको मिलेमत्तोमा उद्योगीहरुलाई सुनियोजित रुपमा खोप लगाउन खोजिएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता ताजिम अन्सारीको आरोप छ । भीड र होहल्ला बढ्दै गएपछि नजिकै रहेको प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो । खोपका लागि आएको बा १ झ ९३६५ नम्बरको मन्त्रालयको खोप बोक्ने गाडी र कर्मचारीलाई प्रहरीकै स्कर्टिङमा फिर्ता पठाईएको थियो ।
खोप लगाउने बिषयबारे विराटनगर महानगरपालिका समेत अनविज्ञ रहेको महानगर प्रमुख भीम पराजुलीले बताएका छन् । वडा नं. २ का वडाध्यक्ष कुमार पोखरेलले पनि आफूलाई खोप लगाउने बिषयमा कुनै जानकारी नआएको बताएका छन् । आफूलाई जानकारी नभई आफ्नो वडामा खोप कार्यक्रम सञ्चालन भएको सुन्दा चकित भएको उनको भनाई छ ।
स्थानीयका अनुसार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघसमेतको अगुवाईमा ३ सय जना निश्चित व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्रबन्ध मिलाईएको थियो । उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले भने आफू त्यस बिषयमा जानकार नरहेको बताएका छन् । यद्यपि त्यहाँ खोप लगाउन पुगेकाहरुले भने प्याकुरेलको खबरपछि आफूहरु आएको बताएका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले खोप लगाएको बारेमा लफडा भएको भनेर जानकारी आएको भएपनि कसले आयोजना गरेको भन्ने बारेमा आफूलाई कुनै जानकारी नगराएको बताए । ‘खोप कार्यक्रमको संयोजकको रुपमा म आफैं रहेको छु’ उनले भने, ‘तर, यस विषयमा मलाई केही जानकारी गराईएको छैन ।’
सामाजिक विकास मन्त्रालयले भने खोप लगाउन छुटेका मुख्यमन्त्री कार्यालयका केही कर्मचारीलाई खोप दिएको जनाएको छ । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भने सरकारका सबै कर्मचारीले यसअघि ने खोप लगाइसकेको जनाएको छ । प्रमुख सचिव सुमनराज अर्यालले मुख्यमन्त्री तथा मन्त्री परिषद्म कार्यालयका सबै कर्मचारीले दोस्रो खोप पनि यसअघि नै लगाएको जानकारी दिएका छन् ।
यस्ता चोर बैमान हरु लाइ हदै सम्म को कारवाइ हुनु पर्ने।
Yesto pani hudo rahe6 jaha pani paisa ra pahuch ko dhanda……sarai niras banayo sarkar yesta kam le……