लेखकहरुले श्रमजीवी जनताको पक्षमा अक्षरको खेती गर्नुपर्छ : नानुमैयाँ दाहाल सुवेदी

प्रगतिशील साहित्य विधामा कलम चलाउँदै साहित्य सिर्जना गर्दै आउनुभएकी साहित्यकार हुन् नानुमैयाँ दाहाल सुवेदी । शिक्षण पेशामा आवद्ध भई विराटनगरको पोखरीया माध्यामिक विद्यालयमा अध्यापनरत दाहाल पछिल्लो समय विराटनगरमा एक सक्रिय साहित्यकारको रुपमा परिचित हुनुहुन्छ । उहाँको एउटा मुक्तक सङ्ग्रह प्रकाशित छ भने अन्य सिर्जनाहरु प्रकाशोन्मुख छन् । प्रगतिशील लेखक संघ मोरङको सचिवसमेत रहनुभएकी दाहालसँग संघको केन्द्रीय अधिवेशनको सन्दर्भमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

साहित्य संघशिक्षण पेशामासाहित्य लेखन कहिलेबाट कसरी सुरुवात गर्नुभयो ?

–मैले निम्न माध्यमिक तहको अध्ययनसँगै भएपछि साहित्य लेखनको सुरुवात गरेँ । त्यसबेला यही क्षेत्रमा लाग्ने भनेर भन्दा पनि विद्यालयमा हुने प्रतियोगिताहरूमा आफ्नो सहभागिता जनाउनको लागि लेख्न सुरु गको थिएँ ।

साहित्यमा प्रगतिशील विधा नै किन रोज्नुभयो ?

–म तत्कालीन समयमा पूर्वको कर्णाली भनेर चिनिने खोटाङ जिल्लामा जन्मिएँ । मेरो जन्मभूमिले क्षेत्रीय विभेदको मार खेपिरहेको थियो । म हुर्किएको समाजमा बसिखाने पनि थिए, गरिखाने पनि थिए । बसिखानेहरू ऐस, आरामसहित सामाजिक रूपमासमेत प्रतिष्ठित जीवन जिइरहेका थिए । गरिखानेहरू एकातिर भोकसँग जुधिरहेका थिए भने अर्कोतिर हेपिएको जीवन बाँचिरहेका थिए । छुवाछुत प्रथा, लिङ्गीय विभेदलगायतका विकृति, विसङ्गतिहरूले पनि समाजलाई नराम्ररी गाँजिरहेको थियो । यस्ता विविधखालका असमानता, विभेद तथा सामाजिक विसङ्गतिहरूप्रति मेरो मनमा घृणाभावको विकास हुनपुग्यो र मैले रचनामार्फत जानीनजानी विद्रोह बोल्न थालेँ । तर मलाई यस प्रकारको साहित्य प्रगतिशील साहित्य हुन्छ भन्ने ज्ञान भने थिएन । अध्ययन र अनुभवबाट बुझाइको विकास हुँदै गएपछि म मा साहित्यले समाजको समतामूलक अग्रगामी रुपान्तरण गर्न सक्नुपर्छ भन्ने भावनाको विकास भयो । यसका लागि हाम्रा सिर्जनाहरूमा सामाजिक न्याय र समानताका स्वरहरू घोलिनुपर्छ भन्ने लाग्न थाल्यो । स्रष्टाहरूले श्रमजीवी जनताको पक्षमा, राष्ट्र र राष्ट्रियताको पक्षमा, वर्ग सङ्घर्षको पक्षमा अक्षरको खेती गर्न सक्नुपर्छ भन्ने सोच र चिन्तनको विकास भयो । त्यसैले मेरा रचनाहरू प्रगतिशील धारामुखी हुने गरेका हुन् ।

लेखकहरू, साहित्यकारहरू त स्वतन्त्र, स्वच्छन्द हुन्छन् हैन र ?

–साहित्य- साहित्यकारलाई हेर्ने-बुझ्ने सन्दर्भमा अनेक मतमतान्तर छन् । मेरो विचारमा चाहिँ साहित्यकार समाजको सचेत, बौद्धिक एवम् प्राज्ञ वर्ग भएकोले साहित्यकारले सिर्जना कर्म मार्फत समाजको अग्रगामी विकासको लागि दिशानिर्देश गर्न सक्नुपर्छ भन्ने लाग्छ । समाजमा भएका कुरीति, कुसंस्कार, विभेद, रुढीवाद र अन्धविश्वासमा आधारित सोच र चिन्तनलगायतका सबैखाले विकृति, विसङ्गतिहरूप्रति आलोचनात्मक चेत राख्दै रुपान्तरणका विधि, उपाय र तरिकाहरू समेत देखाउन सक्नुपर्छ भन्ने लाग्छ । मानवीय मनमा उत्पन्न भएका कल्पना र भावनामा कलाको उडान भरेको साहित्यले त सामाजिक रुपान्तरणको अगुवाइन गर्न पनि सक्छ । यसर्थ साहित्यकारहरू पनि समाजको विकासका लागि प्रतिपादित कुनै न कुनै सिद्धान्त÷विचारधारासँग त सहमत हुनैपर्छ । त्यसैले मेरो विचारमा चाहिँ साहित्यकारहरू विचारविहीन अर्थात् स्वतन्त्र हुन्छन् भन्ने लाग्दैन ।

विचारका आधारमा भन्दा पार्टीगत आधारमा प्रगतिशील साहित्यकारहरू विभाजित देखिन्छन्, के भन्नुहुन्छ ?

–एउटै विचारको छातामुनि बस्नेहरूबीच पनि विचारको कार्यान्वयनको सन्दर्भमा, अन्तिम गन्तब्यसम्म पुग्नका लागि तय गरिएका कार्यनीति, कार्यभार, योजना तथा कार्यक्रमहरूमा समानता नहुन सक्छ । यस्तो अवस्थामा एउटै विचार स्वीकार गर्ने व्यक्तिहरू पनि जसको कार्यनीति, कार्यभार, योजना तथा कार्यक्रम मन पर्छ त्यसैसँग गोलबन्द हुन्छन् । यस्तो अवस्था साहित्यकारहरूमा पनि आउन सक्छ । यसलाई अन्यथा अर्थमा बुझ्नु हुन्न भन्ने लाग्छ ।

प्रगतिवादी साहित्य र प्रगतिशील साहित्य उस्तै होइन ?

–प्रगतिशील साहित्य भनेको अगाडितिर जाने सोचाइ वा चिन्तनसहितको लेखन हो । यो समयक्रममा फेरिदै जान्छ । राणाकालमा पढ्न लेख्न पाउनुपर्छ भन्ने लेखन नै प्रगतिशील लेखन हुन्थ्यो । पञ्चायतकालमा बहुदलको कुरा नै प्रगतिशील हुन्थ्यो । आज राज्यका सबै तह, तप्का र क्षेत्रहरुमा सबै जातजाति, लिङ्ग, क्षेत्र, भाषा, संस्कृतिका मानिसहरूको समानुपातिक प्रतिनिधित्वको विषय प्रगतिशील विषय बनेको छ । यस अवसरको संस्थागत विकास भएपछि मान्छे जाति र राष्ट्रभन्दा माथि उठेर अन्तर्राष्ट्रिय मानव बन्न खोज्छ, त्यतिबेला अहिले प्रगतिशील भएको लेखन यथास्थितिवादी हुन जान्छ । प्रगतिवादी साहित्य चाहिँ माक्र्सवादी सौन्दर्य चिन्तनसँग सम्बन्धित छ । यसर्थ सबै प्रगतिशील साहित्य प्रगतिवादी साहित्य हँुदैनन् । माक्र्सवादी प्रगतिशीलहरू मात्र प्रगतिवादी हुन्छन् । प्रगतिवादी साहित्यले साहित्य निर्वर्गीय हुन्छ भन्ने मान्यतालाई अस्वीकार गर्दछ । यसले सबैखाले विभेद, शोषण र उत्पीडनको विरोध गर्दै यी सबै खाले समस्याको हल वर्ग सङ्घर्षबाट हुने मान्यता राख्छ । यसले समाजवाद हुँदै साम्यवादसम्मको यात्रालाई आफ्नो लक्ष्य ठान्छ । यसले शोषणरहित स्वतन्त्र र अन्तर्राष्ट्रिय मानव बनाउने लक्ष्य लिएको हुन्छ । त्यसैले प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यमा अन्तर छ ।

अहिले देशको राजनीतिमा सामन्तवादी प्रवृत्तिले पुनरोत्थान हुन खोजेको, समाज अराजक बन्दै गएको जस्तो देखिन्छ । यो समयमा प्रगतिशील साहित्यकारहरूको भूमिका कस्तो हुनुपर्ला ?

–देशमा पटक–पटक व्यवस्थाहरू परिवर्तन हुँदा पनि जनताको अवस्थामा तात्विक परिवर्तन नभएपछि अहिले जनतामा निराशा अङ्कुराएको छ । जनतामा छटपटी छ र विकल्पको खोजीको तहसम्म पनि पुगेको देखिन्छ । यसलाई उपयुक्त अवसरको रूपमा बुझेर सामन्तवादी प्रवृत्तिले शिर उठाउन खोजिरहेको छ । यस्तो जटिल अवस्थामा आलोचनात्मक चेतकामात्र साहित्य सिर्जना गर्ने भन्दा पनि यो परिस्थितिबाट समाज र देशलाई कसरी अगाडि लैजान सकिन्छ भन्नेतर्फ प्रगतिशील साहित्यले दिशानिर्देश गर्नुपर्छ भन्ने लाग्छ । समस्या व्यवस्थामा होइन नेतृत्वमा हो, त्यसैले अहिलेका आवाज र आन्दोलनहरू व्यवस्था परिवर्तन होइन नेतृत्वको रुपान्तरणमा केन्द्रित गर्नका लागि आमजनतालाई सुशिक्षित गर्नुपर्छ । पछिल्लो सयमया नेतृत्वमा विकास भएको पदीय भोक, व्यक्तिवादी चिन्तन, आफन्तवाद तथा अर्थवादका विरुद्ध सङ्घर्ष छेड्न सक्नुपर्छ । देशलाई कमिसन, घुसखोरी र भ्रष्टाचारको चङ्गुलबाट निकाल्ने उपायसहितका रचनाहरूको सिर्जनातिर कलमहरू केन्द्रित हुनुपर्छ । मेरो विचारमा शासन व्यवस्था सञ्चालनको विषयमा प्रणालीको विकास नभएको कारण सरकार नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा स्वेच्छाचारी हुने गरेको छ । विकास निर्माणका कामहरू पनि परिणाममुखी भन्दा पनि वितरणमुखी हुने गरेका छन् । यस्ताखाले यावत समस्याका विरुद्ध पनि विद्रोह ओकल्दै समतामा आधारित समन्यायिक तथा जनमुखी प्रणालीको विकासमार्फत पूँजीवादको विकल्प सामन्तवाद होइन समाजवाद हो भन्ने मान्यतालाई स्थापित गर्नको लागि हाम्रा लेखनहरूले भूमिका खेल्न सक्नुपर्छ ।

संघको केन्द्रीय अधिवेशनको तयारी रहेछ, अधिवेशनले नयाँ के गर्ला ?

–अधिवेशनमा विगतको निर्मम समीक्षा हुनेछ र अधिवेशनले संघका लक्ष्य र उद्देश्यहरू प्राप्तिको लागि वर्तमान अवस्थाको ठोस विष्लेषणसहित मूर्त खालका योजना तथा कार्यक्रमहरू तय गरी कार्यान्वयनको विधि तथा क्यालेण्डरसमेत तयार पार्नेछ ।

संगठन विस्तार र विकास गर्न संघहरू सुस्त भए भन्ने आरोप लाग्ने गरेको छ हैन ?

– संघले संगठनको विकास र विस्तार गर्दै नगरेको भन्ने त होइन । अहिले पनि संघका केन्द्रीय, प्रादेशिक तथा जिल्ला समितिहरू छन् । तर समितिहरू जुन गतिमा चल्नुपर्ने त्यो लय भने समात्न भने सकेको देखिदैन । पालिकास्तरमा संघका समितिहरू निकै कम छन् । तर यस अधिवेशनले यो सुस्सतालाई चिरेर गतिशील ढंगबाट अघि बढ्ने ऊर्जा प्रदान गर्नेछ भन्ने कुरामा म पूर्णतःविश्वस्त छु ।

आउँदो अधिवेशनबाट छानिने नेतृत्व र त्यसपछि गर्ने कामहरू कस्तो हुनुपर्ला जस्तो लाग्छ ?

–आउँदो नेतृत्व सक्षम, जुझारु, कामयावी र दुरदर्शी हुनुपर्छ र त्यस नेतृत्वले नेपाली आकाशमा मडारिएको वादललाई पानीमा रुपान्तरण गरी सुकेको नेपाली माटालाई भिजाएर त्यस माटोमा आशाका विरुवाहरू उमार्न सक्नुपर्छ । सबै नेपालीका मनमा इन्द्रेणी रहरहरू छर्नका लागि कलमहरू तिखार्नु पर्छ । आँगनमा बराबरी घाम उदाउने दिन नआएसम्म समानताका पक्षमा निरन्तर लेखिरहने प्रण गर्नुपर्छ ।

शुक्रबार, २१ चैत, २०८१, दिउँसोको ०३:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर