एकीकृत समाजवादी मोरङको नेतृत्व चयनमा ढिलाई

विराटनगर । उद्घाटन भएको तिन दिन बित्दा समेत पनि नेकपा (एकीकृत समाजवादी) मोरङले नयाँ कार्यसमिति चयन गर्न सकेको छैन । प्रदेशको अधिवेशनको तयारीका जुट्दा ढिलो भएको नेताहरूले बताएका छन् । यही चैत २७ गते देखी प्रदेशको अधिवेशन इटहरीमा हुँदै छ ।

एकीकृत समाजवादीका वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरीलगायत नेताहरू सर्वसम्मत नेतृत्व चयन गर्न जुटेका छन् ।

बुधवार ९ जनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए । एक प्रतिनिधिले भने अहिले तीन जनाले नै अरूलाई डमी उठाएका छन् । अनि केन्द्रीय नेतृत्व भने मिलाउने बहानामा चुनाव रोकिएको छ । ‘अधिवेशन भनेपछि काम छाडेर यहाँ आएर बसेका छौ,’ एक प्रतिनिधिले भने ‘सर्वसम्मत गराउने भए मकै गोड्न, गहुँ काट्न छाडेर विराटनगरमा लामखुट्टे टोकाउन आउनु पर्ने थिएन ।’

विराटनगरको होटल मनासलुमा मङ्गलवारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनले केही जिल्ला सदस्य भने सर्वसम्मत गराएको छ सात पदाधिकारीका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा चन्द्रवीर राई, उद्धव पोखरेल, दीपक ढकाल, लक्ष्मीकुमार श्रेष्ठ, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगीले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।

राई वहालाला जिल्ला अध्यक्ष हुन भने पोख्रेल उपाध्यक्ष हुन् । ढकाल र श्रेष्ठ भने प्रदेश कमिटीका सदस्य हुन् । अन्य भने जिल्ला कमिटी र पालिका अध्यक्ष रहेका छन् ।

राईलाई माथिल्ला कमिटीमा लाने भनेर नेताहरूले आश्वासन दिए पनि उनले जिल्ला अध्यक्ष नै दोहोर्‍याउने अडान लिएपछि नयाँ नेतृत्व चयनमा ढिलाइ भएको नेताहरूले बताएका छन् । केन्द्रीय नेताहरूले पोख्रेलको नाममा सर्वसम्मत गराउने रणनीति लिएका छन् भने बहुमत प्रतिनिधि भने ढकालको पक्षमा देखिएकाले समस्या भएको नेताहरूले बताएका छन् ।

दुई उपाध्यक्ष पदका लागि भने ४ जनाले उम्मेदवारी दिएका छन् । डीबी थापा, भूपाल बस्नेत, वीरेन्द्र यादव र सुमित्रा राईले उम्मेदवारी दिएका छन् । एक सचिव पदका लागि प्रेमराज भारती, तुलसी ढकाल र साइमन रेग्मीले मनोनयन दर्ता गराएका छन् ।

दुई उप–सचिवका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । सन्तोष लिम्बू, मोहन पोखरेल, भवानी धमला, राधाकृष्ण पोखरेल र चन्द्र शर्मा पराजुली उप–सचिवका उम्मेदवार दिएका छन् ।

जिल्ला कमिटी सदस्य भने सर्वसम्मत छानिएका छन् । पदाधिकारीमा भने धेरैको उम्मेदवारी परेपछि नेताहरूलाई मिलाउन समस्या भएको हो ।

शुक्रबार, २१ चैत, २०८१, बिहानको १०:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर