नोबेलको लापरवाहीले विरामी मृत्यु : कानुन बमोजिम पाँच करोड क्षतिपूर्ति माग

विराटनगर । विराटनगर–४ कन्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालमा उपचारमा गम्भिर लापरवाही गरेको कारणले एक जना विरामीको मृत्यु भएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् ।

सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले उपचारमा लापरवाही भएको आरोप लगाउँदै नोबेल हस्पिटलसहित उपचारमा संलग्न चिकित्सक फोक्सो रोग विशेषज्ञ डाक्टर रामहरी घिमिरे र डा. रुपक केसीविरुद्ध मोरङ अदालतमा बुधबार फिराद पत्र दर्ता गरेका हुन् ।

मृतककी श्रीमान महेश्वर पोखरेलको जाहेरीमा मोरङ अदालतमा संविधानको धारा ४२ (२),उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति मागेको छ । पाँच करोड रुपैयाँ क्षतिपूर्तिमार्फत विपक्षीबाट असुलउपर हुनुपर्ने मागदाबी फिरादपत्रमा गरिएको छ ।अदालतले पीडित परिवारलाई जेठ ६ गते तारिख दिएको छ ।

गत माघ १० गते सुनसरी इनरुवाकी विमला थापा पोखरेललाई सामान्य श्वासप्रश्वासको समस्या देखिएपछि नोबेल हस्पिटलको ओपीडिमा आएकी थिइन् । त्यसपछि उनलाई हस्पिटलमा भर्ना गरियो । नोबेल मेडिकल कलेजका प्राचार्य समेत रहेका डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखाइ पनि निको पारिदिन्छु भनी उपचार गर्दा बिरामी आमाको माघ २१ गते मृत्यु भएको छोरा सुशान्तरमण पोखरेलको भनाइ छ । ‘मोर्फिन’ नामक औषधि हाइडोज दिएको कारणले आमाको मृत्यु भएको उनको आरोप छ ।

‘आमालाई आवश्यक भन्दा बढी औषधी दिएकोले मृत्यु भएको स्वास्थ्य क्षेत्रका चिकित्सकहरुले भनेका छन् । उपचारमा गम्भीर लापरवाही भएको छ,’ विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

मृतक परिवारले उपचारमा लापरावही गर्ने चिकित्सकलाई कडा कारवाहीको माग समेत गरेका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरेर उनका छोरा सुशान्तरमणले आमाको जस्तो अरुले गलत उपचारका कारण ज्यान गुमाउन नपरोस् र उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्न र मुद्दा चलाउन सकुन् भनेर आफूले धेरै दुःख गरेर मुद्दा दायर गरेको बताए । ‘नोबेल हस्पिटलमा उपचारमा लापरवाही गरेको पाइएको छ । त्यही भएर कानुनी कारवाहीको लागि हामीले न्यायको खोजीमा अदालतमा मुद्दा दर्ता गरेका हौं ।

उपचारमा लापरवाही गर्ने चिकित्कसविरुद्ध मोरङ अदालतमा मुद्दा दर्ता गरेको यो घटना पहिलो पटक रहेछ,’ उनले भने, ‘यसअघि काठमाण्डौंमा यस्तै प्रकृतिको मुद्दा दर्ता भएको रहेछ । पछि पीडितको पक्षमा फैसला समेत भएको रहेछ । त्यसैलाई नजीरको रुपमा ल्याएपछि मुद्दा दर्ता गर्न सफल भएका छौं । अदालतले न्याय दिन्छ भन्ने हामीलाई विश्वास छ ।’

नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राईले घटनाको विषयमा अध्ययन भइरहेको बताएका छन् । गलत उपचारका कारण बिरामीको मृत्यु भएको भन्ने आरोप र त्यस सन्दर्भमा अदालतमा दर्ता भएको मुद्दाको विषय सार्वजनिक भएपछि अस्पतालले त्यसलाई अध्ययन गरिरहेको उनले बताए ।

‘यो माघ २१ गतेको घटना रहेछ, त्यस दिन बिरामीको मृत्यु भएपछि परिवारका सदस्यहरुले सहजरुपमै अस्पतालबाट शव बुझेर लैजानुभएको देखिन्छ, त्यस्तो कुनै कम्प्लेनहरु पनि अस्पतालमा आएको थिएन, तर अचानक अदालतमा मुद्दा परेको खबर पाएका छौं त्यसपछि हामी पनि डकुमेन्टहरु खोजेर अध्ययन गरिरहेका छौं र अध्ययनपछि घटनाका बारेमा अस्पतालले आफ्नो धारणा सार्वजनिक गर्छ । अहिलेसम्मको जानकारी अनुसार फोक्सोको बिरामी भए पनि डा. घिमिरेले न्यूरो कन्सर्न गराउन लगाउनुभएको देखिएको छ, मुटुमा पनि समस्या देखिएको र त्यसको परीक्षण गराउन लगाउनुभएको देखिन्छ, तर पछिल्लो खबरले हामी पनि गम्भीर भएका छौं र अध्ययन गरेर यस विषयमा हामी धारणा सार्वजनिक गर्छौं ,’ उनले भने । उपचारको विषयमा हस्पिटलका डाक्टर रामहरी घिमिरेसँग गरिएको बारम्बारको फोन सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन ।

शुक्रबार, २१ चैत, २०८१, बिहानको १०:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर