काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितमध्ये १ दशमलव २२ प्रतिशतले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमित निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । तथ्यांक अनुसार आजसम्ममा नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् भने ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् ।
आजमात्रै देशभरमा ८९८० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् ।
हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर परीक्षण भएको छ भने परीक्षण प्रति १० लाखमा ९९ हजार ४४४ जनामा भएको छ ।
कोरोनाको संक्रमण नेपालमा पहिलोपटक २०७६, माघ १० मा पुष्टि भएको थियो। चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपाल आउँदा पहिलोपटक उनमा कोरोना पोजिटिभ देखिएको थियो।