प्रदेश १ संसदीय समितिको निर्देशन : यसअघिको निर्देशन लागू गर

विराटनगर । प्रदेश एकको संसदीय समिति सामाजिक विकास समितिले जारी गरेको निर्देशन तत्काल लागु गर्न समितिले प्रदेश सरकारलाई निर्देशन गरेको छ ।

प्रदेश एकको झापा, मोरङ र सुनसरीमा रहेका कोरोना संक्रमण उपचार केन्द्रहरुको अनुगमन पश्चात समितिले प्रदेश सरकारलाई अक्सिजन आपूर्ति प्रभावकारी बनाउन, प्रदेशवासीलाई अविलम्ब खोप लगाउन, सिमा नाकाबाट हुने संक्रमणको जोखिम नियन्त्रण गर्न, आइसोलेसन र होल्डीङ सेन्टर निर्माण गर्न, निजी अस्पतालको शुल्कमा एकरुपता कायम गराउने लगायतका निर्देशन सरकारलाई दिएको थियो ।

उक्त निर्देशन आंशिक रुपमा मात्रै कार्यान्वयन भएको पाएपछि समितिले आज सरोकारवाला निकायहरुसंग छलफल गरेको छ । छलफलमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका सचिव, कोरोना उपचार गराइरहेका सरकारी तथा निजि अस्पतालका प्रतिनिधिलाई बोलाइएको थियो ।

छलफल पश्चात समितिले यसअघि सरकारलाई दिएको निर्देशनलाई तिब्रताका साथ कार्यन्वयन गर्न निर्देशन दिएको र कालाबजारी र कोरोना नियन्त्रणमा तिनै तहको समन्वय तथा खोपको आपूर्तिकालागि पहल गर्न निर्देशन गर्ने निर्णय गरिएको समितिकी सभापति सरिता थापाले बताइन् ।

शुक्रबार, ०७ जेठ, २०७८, दिउँसोको ०४:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर