संखुवासभा । संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका–३ मा समयमै रगत नपाउँदा एक सुत्केरीले ज्यान गुमाएकी छन् ।
अत्याधिक रक्तश्राव भएकी सिलिचोङ–३ की सिर्जना कुलुङको उपचारका लागि सदरमुकाम खाँदबारी ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।
सिलिचोङ ३ का वडाध्यक्ष प्रताप सिंह तामाङका अनुसार कुलुङको सोमबार राति ७ बजे मृत्यु भएको हो । समयमा रगत नपाउँदा सिलिचोङ ३ की सिर्जनाको मृत्यु भएको हो । सोमबार सुत्केरी बेथा लागेपछि उनलाई ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकोमा केही घण्टामै सिर्जनाले नर्मल तरिकाले बच्चा जन्माएकी थिइन् ।
बच्चा जन्मिएको केही समयपछि सिर्जनाको रक्तश्राव हुनथालेको र अत्याधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरिएको जनाइएको छ । जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी नगरपालिका–१० चन्दनपुर आइपुगेपछि उनको मृत्यु भएको वडाध्यक्ष तामाङले बताए ।
ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी सिर्जनाको अत्याधिक रक्तश्राव भएपछि ताक्कु प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रिफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर भारती पण्डितले जानकारी दिइन् । बच्चा जन्मिएबित्तिकै अत्याधिक रक्तश्राव भएको र साल अड्किएको पछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान भनिएको उनको भनाइ छ ।
सिर्जनालाई तत्काल रगत चाहिने भएपनि प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएपछि थप उपचारका लागि पठाएको केन्द्रले जनाएको छ । सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी बारपार गर्न सक्दैन ।
कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण सिर्जनालाई बाटैमा गुमाउनु परेको श्रीमान बलिरामले दुखेसो गरे । सिर्जनाले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।