बाबुसँग २१ लाख फिरौती लिने छोरा पक्राउ

मिटर व्याजको धन्दामा फसेपछि आफ्नै अपहरणको नाटक

विराटनगर । मिटर व्याजको धन्दामा फसेपछि त्यसबाट उम्कन अपहरणमा परेको नाटक गरेर आफ्नै बाबुसँग फिरौती रकम लिने एक युवालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।

फाल्गुन २३ गते शुक्रबार घरबाट निस्किएका बुढिगंगा गाउँपालिका ३ का २४ बर्षीय मुकेशकुमार महत्तोले अपहरणमा परेको भन्दै ३० लाख रुपैयाँ फिरौती माग्दै बाबु शिवनाराण महतोलाई फोन आएको थियो । फिरौती रकम नदिएमा छोराको ज्यान मार्ने धम्की आएपछि उनले रकम जम्मा गरेका थिए ।

घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले खोजतलास गर्ने क्रममा फागुन २६ गते सोमबार सुनसरीको भान्टावारीमा मुकेशलाई फेला पारेको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि अपरहण भएको नभई अपहरणको नाटक भएको खुलेको हो । महतो परिवारले फिरौती रकम २१ लाख बुझाएपछि प्रहरी पुगेको थियो ।

मुकेश पक्राउ परेसँगै फिरोतीको रकमसहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीका नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । मुकेशले त्यसबीचमा बाबुलाई फोन गरी आफू अपहरणमा परेको र रकम नदिए मारिदिने बताएका थिए । उनले २३ र २४ गते अपहरणकारीले आफुलाई लाहानमा राखेको जानकारी दिएका थिए भने २५ गते धनुषाको जनकपुरमा राखेको बताएका थिए ।

हरेक दिन फोन गरेर उनले बाबुलाई फिरौती रकमको लागि दबाब दिने गरेका थिए । फागुन २६ गते कोशी ब्यारेजको बोर्डर छेउमा राखेको जानकारी उनले दिएका थिए । सोही दिन बाबु शिवनारायण महतोले २१ लाख रुपैयाँ फिरौतीको रकम बुझाएका थिए ।

फिरौतीको रकममध्ये १ लाख १० हजार सापटी चलाए बापत आकाश यादवलाई दिएको, २५ हजार स्यार्सेकालिका आयल डिस्ट्रीब्यूर्टसलाई डिजेलको रकम दिएको, १० हजार लाहान १ बस्ने बर्ष २० की प्रिती चौधरीलाई दिएको, २ हजार कृष्ण राजबंशीले खर्च गरेको बताइएको छ । १६ लाख ५३ हजारसहित र ३ लाखको चेक बरामद भएको थियो ।

मुकेशकुमार महतोले ५ लाख रूपैयाँ मिटर ब्याजमा सापट लिँदा ९६ लाख परिवारले तिर्नु परेको थियो । उनले अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की आएपछि बाबुसँगै रकम असुल्न अपहरणको नाटक गरेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, २८ फागुन, २०७६, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर