अनन्तराज न्यौपाने
सन् १३२५ देखि १३५१ भारतको दिल्लीमा एक सनकी राजाले शासन गरे । ती राजाको नाम बिन तुगलक थियो । त्यसोत, उनी विद्वान्, मौलिक योजनाकार र ठूला सेनापति पनि थिए । उनले आफ्नो राज्य धेरै ठाउँमा विस्तार गरे । तर उनको सनक र उद्दण्डता देश र देशवासीका लागि धेरै महँगो साबित भयो ।
विन तुगलकले कसैको सल्लाहबिना राजधानी दिल्लीलाई देवगिरि भन्ने ठाउँमा सारे । देवगिरिको नाम उनीअघिका राजा मुबारक खिलजीले कुतुबाबाद राखेका थिए । तुगलकले त्यो नाम पनि परिवर्तन गरेर दौलतावाद राखे । भारतका इतिहासकारहरू भन्छन्, तुगलकको यो योजना एउटा असफल प्रयास मात्र थियो । पछि बाध्य भएर दिल्लीमै राजधानी फर्काउनु परेको थियो ।
तुगलकको अर्को सनकीपूर्ण काम भनेको चलनचल्तीका चाँदीका सिक्कालाई रातारात विस्थापित गरेर तामाका सिक्का प्रचलनमा ल्याउनु थियो । सरकारले नै तामाका सिक्काको चलन चलाएपछि जनताले घरघरमा यस्तै सिक्का बनाउन थाले । यसले गर्दा सरकारले राजस्वमा ठूलो क्षति ब्यहोर्नुप¥यो । देशमा ठूलो आर्थिक सङ्कट आइलाग्यो ।
दिल्लीमा तुगलक शासन कालको ८ सय वर्षपछि नेपालमा त्यस्तै सनकी शासकको उदय भएको छ । खड्गप्रसाद ओली नामका यी शासक आफू निकै बुद्धिमान् र विद्वान् छु भन्ने देखाउन जानेका–नजानेका सबै विषयमा प्रवचन फलाक्ने गर्छन् । अम्बाको पातले गार्गल गर्ने होस् वा बेसार पानीको प्रसङ्ग, ओलीका ठुटे बौद्धिकताका ज्वलन्त नमुना हुन् । कालापानी र लिपुलेक जोडिएको चुच्चे नक्शा ओलीको अप्राकृतिक वीरता र अभद्र कूटनीतिको उदाहरण मात्र हो ।
ओलीले नेपालको इतिहासमै सबैभन्दा सनकी र कलङ्कपूर्ण काम गरेको चाहिँ चितवनको माडीलाई अयोध्या क्षेत्र घोषणा गरेर हो । कुनै किम्वदन्ती, पौराणिक उपाख्यान र भौगोलिक प्रमाण बिना नै उनले माडीलाई अयोध्या बनाइदिए अनि राम, सीता लक्ष्मणादिका मूर्ति पनि प्रतिष्ठापित गरे । सम्पूर्ण देश बेरोजगारी, कोरोना कहर, गरीबी र महँगीका उत्पीडनमा छटपटाइरहेका बेला आफूलाई समाजवादी र वामपन्थी भन्न रुचाउने नेताको यो बहुलट्ठीपनलाई इतिहासले कसरी मूल्याङ्कन गर्ला धेरै कुर्नु पर्दैन ।
हुन पनि ओलीसित कुरा गर्ने कुनै पनि व्यक्ति, पत्रकार, नेता वा बौद्धिक मान्छेले एउटा वामपन्थी नेता होइन कुनै हिन्दु अभियन्तासित बोलिरहेको आभास पाउँछ । व्यक्ति हत्याको अभियोगमा लामो समय जेल बसेका खड्गप्रसादले झापामा निर्बोध र निर्दोष नागरिकको हत्या गरेको ठूलै पश्चात्ताप जेलभित्र गरेछन् । अन्य सबै वामपन्थी नेताले जेलमा माक्र्स, लेनिन, एङ्गेल्स र माओ पढ्दा खड्गप्रसादले रामायण, महाभारत, भागवत र विष्णुुपुराण पढेछन् । सम्भवतः उनी पश्चात्ताप र आत्मग्लानिवश धार्मिक अध्ययनमा लागेका थिए । त्यसैले उनी जेलबाट छुट्ता प्रखर वामपन्थी बुद्धिजीवी नभई प्रखर पौराणिक ज्ञाता भएर निस्किए । तर ‘अनभ्यासे विषं विद्या’ भनेझैँ जेलमा पढेका सबै कुरा ओलीले सम्झिएका छैनन् । उनले भारतीय टेलिभिजनमा भनेझै कोशी नदीका तीरमा कौशिक ऋषिले गायत्री मन्त्र प्रादुर्भाव गरेका होइनन्, गायत्री मन्त्रका द्रष्टा ऋषि विश्वामित्र हुन् । तर ओलीले कौशिक हुन् भनिदिए । जे होस्, ओली आफूलाई वामपन्थीभन्दा रामपन्थी भएकोमा बढी गर्व गर्छन् ।
तर उनको रामपन्थ अत्यन्त अशोभनीय ढाँचामा प्रकट हुन्छ । माडीमा उनले गरेको राम–सीतादिको मूर्ति प्रतिष्ठापन कार्य त्यस्तै एउटा भद्दा प्रयोग थियो । ओलीले श्रद्धा, भक्ति, प्रेम र शरणागत भावले नभई यो प्रयोग भारतसितको ईष्र्या, द्वेष र अस्वस्थ होडबाजीको भावले प्रेरित भएर गरेका थिए । त्यसैले यो कामलाई कसैले पनि भाँडिदिएको थियो भने उसले पाप होइन, पुण्य कमाउँथ्यो ।
राम स्वयं यज्ञपुरुष हुन् । उनी यज्ञको अभियान र यज्ञकर्तालाई संरक्षण गर्न यस धराधाममा अवतरित भएका थिए । तर उनै यज्ञपुरुष श्रीरामले रावणले गरेको यज्ञलाई छिन्नभिन्न बनाइदिए । ईष्र्या, द्वेष, छलकपट र नकारात्मक उद्देश्यले प्रेरित कामलाई ईश्वरले पनि ध्वस्त बनाइदिन्छन् । ओलीले गरेको मूर्ति प्रतिष्ठापन रावणकै यज्ञको अनुशरण थियो ।
मुलुकमा भोक, रोग र गरीबीले सर्वसाधारण चिच्याइरहेका बेला ओली कृत्रिम अयोध्यामा मूर्खतावश प्रतिष्ठापन गरिएका देवताको आरती उतार्दै थिए । सर्वसाधारणका पेटमा बेरोजगारीको आगो सल्किरहेको थियो, ओली मूर्तिका अगाडि धूप हल्लाइरहेका थिए । जनता–जनार्दन अर्थात् मुलुकका बोल्ने देवीदेवताहरू कोरोनाबाट त्राण खोजिरहेकै समयमा ओली नबोल्ने मूर्तिका अगाडि स्वस्तिवाचन सुन्दै थिए ।
मूलतः ओली मोदीको इच्छानुसार नेपाललाई धर्म निरपेक्षबाट बदलेर हिन्दु राष्ट्र बनाउन चाहन्छन् । यो विषय, उनको माक्र्सवाद, बहुदलीय जनवाद र पार्टी सिद्धान्तका विपरीत छ । तर उनी शासनमा बसिरहे भने उनले गरेरै छाड्ने छन् किनभने उनी तुगलकका नयाँ अवतार जो हुन् ।
हिन्दुराज्य बनाए त खुसीको कुरा हो। दुखी हुनुपर्ने कुनै कारण छैन।