उर्लाबारी–मधुमल्ला सडक सातादेखि ठप्प

उर्लाबारी । मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडक निर्माणको माग गर्दै स्थानीयबासी एक सातादेखि आन्दोलित छन् । वैशाख २ गते बिहीबारदेखि स्थानीयबासीले उर्लाबारी–मधुल्ला सडक अवरुद्ध पारेर आन्दोलन गरिरहेका हुन् ।

स्थानीय भक्तिप्रसाद पोख्रेलको संयोजकत्वमा उर्लाबारी–मधुमल्ला सडक खण्ड मर्मत संघर्ष समिति गठन गरी उर्लाबारी–५ र ६ को डिबी मार्ग, अबिरल चोक र मधुमल्लामा सडकमा बाँसको ढाट राखेर सडक अवरुद्ध पारिएको छ । मंगलबार प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री अम्बिरबाबु गुरूङले स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि पहल गर्ने आश्वासन पनि दिएका छन् ।

प्रदेश १ लेखा समितिका सभापति शिवनारायण सिंह गनगाइँ, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)लगायतले स्थानीयको आन्दोलनप्रति समर्थन जनाउँदै आफूहरुले सडक निर्माणका लागि पहल गर्ने वचन दिएका छन् । प्रदेश सरकारले २ करोड ८० लाख रुपैयाँ बजेट नहाल्दा ठेकेदार पक्षले काम रोकेको सांसद लिम्बूको भनाइ छ ।

सडक कालोपत्रे निर्माण कार्य सुरु भएको करिब ९ वर्ष हुँदा पनि पूर्णता पाउन सकेको छैन । सडक कालोपत्रेको ठेक्का पाएका ठेकेदार बेपत्ता भएपछि सडकको निर्माण कार्य अधुरै रहेका कारण स्थानीयबासीले सास्ती खेप्नु परेको संघर्ष समितिका संयोजक भक्तिप्रसाद पोख्रेलको भनाइ छ । २०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

पटक–पटक पत्र काटेर निर्माण सुचारु गर्न आग्रह गर्दा समेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको बताइएको छ । उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको छ । तर, ठेकेदारको लापरवाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै बेहाल बनेको छ ।

उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किमिमा कालोपत्रे भएको थियो । बाँकी खण्ड अझै धुले छ । अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नु परे मेची राजमार्गको घुमाउरो बाटो करिब दुई सय १३ किमि पार गर्नुपर्छ । रविबाट झापाको दमक जोड्ने करिब ५९ किमिको सडकको २० किमि खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वषार्याममा उक्त सडकमा पनि यातायातका साधन बन्द हुन्छन् ।

बुधबार, ०८ बैशाख, २०७८, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर