विराटनगर । हेलिकप्टर चढेर ससुराली गएको विषयमा मंगलबार सामाजिक आलोचना खेपेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विलासीपूर्ण जीवनशैलीका कारण विवादित बन्दै जानुभएको छ । पोशाकका लागि सौखिन मुख्यमन्त्री राईको अर्को शौख हेलिकप्टर सयर हो ।
आफूभन्दा आधा बढी कम उमेरकी मोडलसँग महंगो र भड्किलो विवाह गरेर कम्युनिष्ट आचरण र वर्गीय संस्कृतिलाई तिलाञ्जली दिएको आरोप पनि उहाँले खेप्नुपरेको छ ।
मुख्यमन्त्री राई फागुन १३ गते पार्टीका केही नेताहरुलाई लिएर संखुवासभाको मकालु गाउँपालिका पुग्नुभएको थियो । मकालु उहाँको ससुराली गाउँ हो । श्रीमती जाङ्मु शेर्पाको साथमा पहिलोपटक ससुराली गाउँ पुग्दा संखुवासभाका सांसद राजेन्द्र गौतम र प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङसहितका नेता पनि साथमा थिए ।
ससुरालीबाट फर्केको चार दिनपछि मुख्यमन्त्री राई फागुन १८ गते हेलिकप्टरबाटै ताप्लेजुङ पुग्नुभएको थियो । ताप्लेजुङको मेरिङ्देन दोभानमा ठूलो आगलागीको घटना भएपछि अवलोकनका लागि उहाँ हेलिकप्टर चढेर मेरिङ्देन पुग्नुभयो । विराटनगरबाट गाडीमा पठाएको राहत सामग्री घटनास्थल पुग्न ढिलो हुने भएपछि मुख्यमन्त्रीले हेलिकप्टरको यात्रा पनि तोकिएको समयभन्दा पछि सरेको थियो ।
घटनास्थल पुगेर मुख्यमन्त्री राईले पीडित परिवारलाई ५० हजारका दरले क्षतिपूर्ति दिने आश्वासन दिएर फर्कनुभयो । तर, त्यसबारे अहिलेसम्म प्रदेश सरकारले कुनै निर्णय गरेको छैन ।
मुख्यमन्त्री राई फागुन २० गते हेलिकप्टर चढेर ओखलढुंगाको भ्रमणमा श्रीमती शेर्पाको साथमा निस्कनुभयो । राई त्यसअघि माघ ३० गते पनि हेलिकप्टरबाटै ओखलढुंगा पुग्नुभएको थियो भने पत्रकार महासंघ ओखलढुंगाको भवन उद्घाटन गर्न माघ २५ गते पनि उहाँ हेलिकप्टरमै पुग्नुभएको थियो । ३० गते भने नेकपा विवाद उत्कर्षमा पुगेको बेला ओलीपक्षीय भेलालाई सम्बोधन गर्न पुग्नुभएको थियो ।
त्यसो त गत वैशाख १३ गते भोजपुरको हतुवागढीस्थित हुम्ताङमा एकजना २६ वर्षे युवामा कोरोना संक्रण भेटिएपछि मुख्यमन्त्री राई आफैं हेलिकप्टर लिएर हतुवागढी पुग्नुभएको थियो । त्यहाँ पुगेर उनले चार थान थर्मल गन, १० थान पिपिई र १०० थान भिटिएम छोडेर फर्कनुभयो ।
मुख्यमन्त्री राई पहाडी जिल्ला जानेक्रममा हेरिकप्टरमै पुग्ने गर्नुभएको छ । विराटनगरबाट हवाईजहाजमा काठमाडौं पुगेर उहाँ हेलिकप्टरबाट प्रदेशका पहाडी जिल्लामा पुग्नुहुन्छ । कतिपय अवस्थामा विराटनगरमै हेलिकप्टर मगाएर जाने गर्नुभएको छ । सरकारी कार्यक्रम बाहेक उहाँको हेलिकप्टर यात्राको प्रबन्ध प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्मिरबाबु गुरुङले मिलाउने उहाँ निकटको भनाइ छ ।
गुरुङ र मुख्यमन्त्री राईबीच राजनीतिक र व्यवसायिक दुबै खाले सम्बन्ध र साझेदारी रहेको बताइन्छ । पार्टीको राजनीतिमा कुनै योगदान नभएपनि मुख्यमन्त्रीले प्रदेश सरकारको करिब आधा बजेट भएको मन्त्रालयको नेतृत्व गुरुङलाई दिनुभएको छ ।
मुख्यमन्त्रीको हेलिकप्टर प्रेमको अर्को एउटा रमाइलो प्रसंग छ । २०७५ साल माघ महिनामा मुख्यमन्त्री राई हेलिकप्टर चढेर ओखलढुंगाको रुम्जाटार पुग्नुभयो । उदयपुरको कटारीबाट घुर्मी हुँदै ओखलढुंगा गएको भए मुख्यमन्त्रीको यात्रा ३ दिनको हुनेथियो । कटारी–घुर्मीको जीर्ण सडकको यात्रा उहाँले गर्नुभएन ।
रुम्जाटारमा पुगेर राईले महिन्द्रा कम्पनीको गाडीको शो–रुम उद्घाटन गरेर हेलिकप्टरमै फर्कनुभयो । त्यतिमात्र होइन अघिल्लो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउने तेह्रथुमको आठराई जाँदा पनि मुख्यमन्त्री राई छुट्टै हेलिकप्टर लिएर पुग्नुभएको थियो । भिआइपीहरुका लागि विराटनगरबाट तेह्रथुम ५ घण्टाको दुरीमा रहेपनि राई काठमाडौ पुगेर हेलिकप्टरमा तेह्रथुम आउनुभएको थियो ।
असार ११ गते मुख्यमन्त्री शेरधन राईको जन्मदिन हो । जन्मदिनमा उहाँले विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालय परिसरमा आँपको बिरुवा रोप्ने कार्यक्रम थियो । टलक्क टल्कने जुत्ता, स्वेतपोस दौरासुरुवालमा सजिनुभएका उहाँले हातमा पञ्जा लगाएर खाल्डोको छेउमा म्याट ओछ्याई सहयोगीले ओढाएको छातामुनी बसेर आँपको बिरुवा रोपेको घटना आलोचित बनेको थियो ।
मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह भयो । विवाह र भोज दुबै भड्किलो भएको भन्दै आलोचना भएको थियो । मुख्यमन्त्रीको पोशाकदेखि खानपीन, उठबस र हेलिकप्टरमैत्री व्यवहारले उहाँको विलासी जीवनशैलीलाई मात्र पुष्टि गरिरहेको छैन, त्यसको स्रोत के हो भन्ने पनि प्रश्न उठ्न थालेको छ ।