विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पिडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ ।
आज आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको छ ।
आगलागी पिडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताउनु भएको हो । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।
आगलागी पिडितहरुको अवस्था बुझ्न घटनास्थल पुग्नु भएका मुख्यमन्त्री राईले पिडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिनुभयो । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पिडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो ।
प्रदेश सरकारका तर्फबाट पिडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री मुख्यमन्त्री राईले पिडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।
आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ ।
मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगामलगायत आगलागी बस्ती पुग्नु भएको हो ।