विराटनगर । गृहमन्त्री तथा नेकपा (ओली समूह)का सचिवालय सदस्य रामबहादुर थापा (बादल)ले प्रचण्ड–माधव समूहको हिटलरको जस्तै अन्त्य हुने दाबी गरेका छन् ।
सो समूहले विराटनगरमा गरेको वृहत सभालाई सम्बोधन गर्दै बादलले षड्यन्त्र गरेर नेतृत्व हत्याउन खोज्ने, प्रधानमन्त्रीलाई हटाउन खोज्नेहरुको अन्त्य हिटलरको जस्तै हुने बताएका हुन् ।
‘तपाईहरुको षडयन्त्र, कदापी सफल हुँदैन, इतिहासले यो सावित गरिसकेको छ । उनीहरुको अनिवार्य परिणती हिटलरकै जस्तो हुनेछ,’ बादलले भने, ‘जुन, पदलोलुपताको आकांक्षा छ, त्यो कदापि सफल हुँदैन, यो जागरणले उनीहरुको सबै आकांक्षा र षड्यन्त्रलाई अन्त्य गर्नेछ र समाप्त गर्नेछ ।’
प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै बादलले एकता अभियानबाट आतंकित भएर केही मन्त्रीले राजिनामा दिन भनेर हल्ला फिँजाएको बताए । ‘फुटवादीहरुले नयाँ ढंगले प्रयत्नहरु गरिरहेका छन् । काठमाडौंमा नयाँ भ्रम फैल्याउन प्रयत्न गरे । नेकपाबाट केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड–नेपाल समूहतिर फर्किदैछन् भनेर भ्रम फिँजाइरहेका छन् ? किन ?’, बादलले भने, ‘त्यो उनीहरुको एउटा आतंक र भयको अभिव्यक्ति हो । उनीहरुले गोयबलको साहरा लिएका हुन् ।’
‘हाम्रो नेतृत्वले जनताको बीचमा जाने, जनतालाई नै न्यायाधीश बनाउने त्यो नै लोकतान्त्रिक विधि र लोकतान्त्रिक प्रक्रिया हो,’ बादलले भने, ‘यो कसरी असंवैधानिक र प्रतिगामी भयो ? ।’
‘आन्तरिक पंक्तिबाटै अस्थिरताको षड्यन्त्र रचियो, देशलाई अस्थिरतामा धकेल्न खोजियो, हाम्रो पंक्तिमा लुकेर बसेका अवसरवादी, गुटवादी र फुटवादी, पदलोलुपहरुले असामान्य परिस्थिति सिर्जना गरेका हुन्,’ उनले भने, ‘यो असामान्य परिस्थिति भित्र बाह्य शक्तिहरु पनि खेलिरहेका छन् । कसरी यो देशलाई अस्थिरतातिर धकेलेर विकासलाई कसरी रोक्ने, देशलाई अस्थिरतामा धकेलेर प्रतिगमनतिर लैजाने भन्ने उनीहरुको उद्देश्य एक हदसम्म पूरा भएको छ, उनीहरु खुसी छन्, जनता दुःखी छन् ।’
पुरानो संसद अस्थिरता निम्त्याउने थलोको रुपमा परिणत भइसकेको बादलको दाबी थियो । ‘अब नयाँ संसदले मात्रै देशमा स्थायित्व काम गर्न सक्छ, पुरानो संसद स्थायीत्व, सुशासन र समृद्धिको बाधक बनेको थियो र त्यसलाई संविधानले दिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले विघटन गर्नुभएको हो,’ उनले भने, ‘अबको नयाँ जनादेशले मात्रै देशमा स्थायीत्व र समृद्धिको पक्षमा उभिने संसद दिन सक्छ ।’
गृहमन्त्री बादलले निर्मला पन्तको हत्याका अभियुक्त कानून नजिक आएको पनि बताए । देशमा हत्या, हिंसा र बलात्कारका घटनाको दोषिलाई धमाधम कारबाहीको दायरामा लिइरहेको बताउँदै भागीरथी भट्टको बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गरिसकिएको र निर्मला पन्तको हत्यामा संलग्नलाई पनि छिट्टै कानूनको दायरामा ल्याउने बताए ।