विराटनगर । जनताको आवाज मुखरित हुने संसद् भंग गरेर, प्रदेशसभा पनि आफै ठप्प पारेर सरकार सडकमा शक्ति प्रदर्शन गर्न लागिपरेका बेला सर्वसाधारण अचाक्ली महँगीको मारमा परेका छन् ।
दाल, तेल, चामल, आँटा, चिनी जस्ता अत्यावश्यक खाद्यवस्तुको मुल्य ह्वात्तै बढेको छ । पेट्रोलियम पदार्थको भाउ एकै हप्तामा दुईपटक बढिसकेको छ । यही निहुँमा यातायात व्यवसायीले आफूखुसी भाडा बढाइसकेका छन् । चिकित्सकहरुले विरामी जाँचेको शुल्क पनि ठूलै अनुपातमा बढाएका छन् । सरकारले लादेको चर्को करले इन्टरनेट सेवा पनि महँगिएको छ ।
जनताको दैनिक जीवन सहज बनाउने मुख्य दायित्व पन्छाउँदै सरकार यतिबेला सडकमा शक्ति प्रदर्शन गर्न व्यस्त छ । प्रदेश १ को राजधानी विराटनगरमा पनि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी सरकारी आमसभा आयोजना गरिएको छ । सरकार सिंहदरबार छाडेर सडकमा ओर्लिएको यहीबेला महँगी ह्वात्तै बढेको छ । यसले सर्वसाधारणको दैनिक जीवन असहज बनाइदिएको छ ।
पुस ५ को अवैधानिक कदमपछि सिंहदरबार छाडेर सडकमा शक्ति प्रदर्शनमा जुटेको संघीय सरकार र त्यसैको सहयोगी बनेको प्रदेश सरकारले महँगी नियन्त्रणको कुनै पहल गरेका छैनन् । यसलाई राजनीतिक विश्लेषकहरु ओलीका लागि स्वाभाविक भएको बताउँछन् । ‘ओली सरकारले आफ्ना प्राथमिकता बुझ्न नसकेको अहिले मात्रै होइन, सुरुदेखि नै हो ’, विश्लेषक तथा लेखक उज्जवल प्रसाई भन्छन् ‘आम मानिस र नागरिकप्रति जवाफदेही हुनुपर्ने दायित्वबाट च्यूत ओली र उनको सरकार आफू स्वयं र वरपरिका माफियाहरुका हितमा मात्रै केन्द्रित छन् । जवाफदेही बनाउने विधि र संस्थालाई पूर्णतया निस्तेज बनाइसकेको पुषतन्त्रमा एउटै मात्रै ध्याउन्न छ सडकमा उठ्न थालेका सबै प्रतिरोधलाई निस्तेज तुल्याउनु । बाँकी कुरा उनीहरुको प्राथमिकतामा छैन ।’
भान्छा धान्नै मुस्किल
पुसमा मात्रै प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने सूर्यमुखी खानेतलको मुल्य अहिले प्रतिलिटर २ सय १० रुपैयाँ पुगेको छ । महिना दिनभित्रै खानेतेलमा ४० रुपैयाँले महँगी थपिएको छ । विराटनगरस्थित थोक तथा खुद्रा व्यवसायीहरुका अनुसार चामलमा पनि प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म भाउ बढेको छ । ५० रुपैयाँमा पाइने मन्सुली चामल ५५ भएको छ भने ६० रुपैयाँ प्रतिकेजीमा पाइने जिरा मसिनो ६५ देखि ७० रुपैयाँ केजीसम्म पुगेको छ । ‘व्यापारीहरुले दाम बढ्यो भनेपछि तिर्नै पर्यो’, विराटनगर २ की पुष्पा भट्टराईले भनिन् ‘तर, केही दिनयता सबैथोकको भाउ बढेको छ ।’
यति मात्रै होइन, पुससम्म ११२ देखि १२० रुपैयाँ प्रतिकेजीमा पाइने मुसुरो दाल अहिले १२० देखि १२० रुपैयाँसम्म पुगेको छ । २८५ रुपैयाँमा पाइने पाँच केजी आँटा अहिले २९० रुपैयाँ पुगेको छ । तोरीको तेल १९० रुपैयाँ प्रतिलिटरमा पाइन्थ्यो पुससम्म तर अहिले त्यसको मुल्य २२० रुपैयाँ पुगेको छ ।
ढाड सेक्यो पेट्रोलियमले
सरकारले पेट्रोलियम पदार्थमा मुल्य बढाएर जनताको ढाड सेकेको छ । डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि विराटनगरमा पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ ५० पैसा , डिजेल तथा मट्टितेलको ९७ तोकिएको छ । तर, मट्टितेल विराटनगरमा १ सय रुपैयाँ लिटरमा किनबेच भइरहेको छ ।
एक साताभित्र दोस्रोपटक बढेको यसको मुल्यले सार्वजनिक यातायातमा भाडा बढ्न थालेको छ । पेट्रोलको दाम बढेको भन्दै यातायातकर्मीले आफूखुसी भाडा बढाएका छन् ।
विराटनगरका यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको भाडा बढाउनुपर्ने माग गरेका छन् । पेट्रोलियम पर्दाथको मूल्य वृद्धि भएसँगै यातायात व्यावसायीहरुले भाडा बढाउनुपर्ने माग गरेका हुन् । उनीहरुले १० देखि १५ प्रतिशतसम्म भाडादर बढाउनुपर्ने माग गरेका छन् । भाडादर वृद्धिका लागि यातायात व्यवसायी महासंघसँग छलफल भइरहेको महासंघका मोरङ जिल्ला संयोजक राजन कँडेलले जानकारी दिए ।
पेट्रोलियम पर्दाथको मूल्यमा वृद्धि भएपनि हाल पुरानै भाडा कायम रहेकाले दैनिक आर्थिक भार थपिँदै गएको यातायात व्यवसायीहरुको गुनासो छ । कोरोना महामारीका कारण लामो समयसम्म मर्कामा परेका यातायात व्यावसायीहरु पेट्रोलियम पदार्थको मुल्य वृद्धिले झन संकटमा परेको यातायात व्यवसायी राजु धमलाले बताए ।
बढ्यो डाक्टरको शुल्क
चौतर्फीले महँगीको मारले थिचेको बेला सर्वसाधारण मारमा पर्ने अर्को निर्णय स्वास्थ्य क्षेत्रमा आएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको छ । स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो । सो सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।
पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ । त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ । ‘अब सामान्य आय भएकाले विशेषज्ञ चिकित्सक देखाउन नसक्ने अवस्था आयो’, विराटनगरका हेमराज कर्णले भने ‘जताततै महँगी बढ्यो, आम्दानी भने पटक्कै बढेको छैन । कसरी बाँच्नु हौ यस्तोमा ?’
कर थोपर्दा महँगो भयो इन्टरनेट
सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा महँगो भएको छ । इन्टरनेटलाई सरकारले नै अत्यावश्यक सेवाको सूचीमा राखेको छ । तर विभिन्न शीर्षकका नाममा लगाइने कर धेरै भएपछि त्यसको प्रत्यक्ष मार ग्राहकमा पर्न गएको छ ।
पहिला २ सय ५० रुपैयाँ तिर्नुपर्ने भाडा अहिले ७ हजार रुपैयाँसम्म पुगेको छ । कोभिड–१९ को महामारीको बेलामा इन्टरनेट अत्यावश्यक सेवा हो भन्ने अवगत भए पनि महामारीको प्रभाव कम भएसँगै इन्टरनेट सेवा निरन्तरता दिने ग्राहक घट्न थालेको इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीको भनाइ छ ।
अहिले पनि इन्टरनेटमा उपभोक्ताले ४५ प्रतिशतभन्दा बढी ट्याक्स तिर्नु परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भने इन्टरनेटको मूल्य भारी मात्रामा सस्तिएको छ । तर, नेपालमा भने त्यसअनुसार समायोजन हुन नसकिरहेको बेला सरकारले थप कर लगाएको हो ।