विराटनगर । गतवर्षको फागुन १८ गते विराटनगर १० न्यूरो हस्पिटल अगाडि रहेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ का संचालक विकास मण्डल म्याद सकिएको औषधी बिक्री वितरण गरेको आरोपमा पक्राउ परे ।
औषधी व्यवस्था विभाग विराटनगरका तत्कालिन फार्मेसी अधिकृत चतुर्भुजप्रसाद यादवको नेतृत्वमा आएको अनुगमन टोलीले मण्डलको फार्मेसीबाट विभिन्न १५ प्रकारका औषधी म्याद सकिएको अवस्थामा फेला प¥यो । अनुगमनले टोलीले मण्डलको फार्मेसी शिलबन्दी गर्दै उनलाई पक्राउ गरि विभागमा उपस्थित गराइयो । मण्डलले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गरि म्याद सकिएको औषधी बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेपछि उनलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइयो र मोरङ अदालतका तत्कालिन न्यायाधीश तेजबहादुर खड्काको इजलाशले २५ असारमा तीन लाख रुपैयाँ धरौटीमा उनलाई छोड्न आदेश दियो ।
सोही दिन मण्डलले अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भए । धरौटीमा छुटेपछि मण्डल स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्ने उनीनिकट अन्य व्यवसायीहरूको अपेक्षा थियो । तर, व्यवसायीको अपेक्षा गरेभन्दा फरक बाटोमा विकास हिँडे र उनी पुनः पुरानै अवैध धन्दामा लागे ।
आइतबार राती मोरङ प्रहरीका प्रहरी निरीक्षक पुप्पु नायकको नेतृत्वमा गएको टोलीले यादवको डेरादेखि ठूलो परिमाणमा प्रतिबन्धित औषधी र म्याद सकिएको औषधीमा नयाँ मिति उल्लेख भएको लेबल, उपकरण बरामद गरेको छ । भारतदेखि तस्करी गरि औषधी व्यवस्था विभागमा दर्ता नभएका ७९ प्रकारका औषधीसहित २६ वर्षीय बिक्रम मण्डल पक्राउ परेपछि विकास पुनः अवैध धन्दामा लागेको खुलेको छ । मोरङ प्रहरीले प्रतिबन्धित, म्याद सकिएको औषधीमा पुनः नयाँ लेबल लगाउने स्टिकर र लेबल बनाउने उपकरणसहित विक्रमलाई पक्राउ गरेपछि विकास फरार छन् । प्रहरीले विकासको खोजी गरिरहेको जनाएको छ । विकास र विक्रम दाजुभाई हुन् । उनीहरू दुवै जना मिलेर न्यूरो अस्पतालअगाडि लामो समयदेखि फार्मेसी संचालन गर्दै आएका छन् ।
दाजु औषधी ल्याउने भाई बेच्ने
भारतमा सस्तोमा पाउने भएपछि विकासले औषधी व्यवस्था विभागमा दर्ता नै नभएको अवैध औषधी तस्करी गरि ल्याउँथे । उनले ल्याएको औषधि ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’मा बसेर भाईले विक्री गर्थे । विकासले प्रतिबन्धित औषधी अन्य फार्मेसीहरूमा दिएको हुनसक्ने मोरङ प्रहरीको आशङ्का छ । प्रहरीले सो विषयमा पनि अनुसन्धानलाई फराकिलो बनाएको जनाएको छ ।
‘पक्राउ परेका मण्डलले प्रतिबन्धीत औषधी डेरामा भण्डारण गरि बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक चरणको अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भन्नुभयो, ‘प्रहरीले छापा हानेर विभिन्न ब्राण्डका प्रतिबन्धित औषधीहरू बरामद गरेको हो ।’
प्रहरीले बरामद गरेको औषधी झण्डै १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको छ । मोरङ प्रहरीले आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभागको विराटनगरस्थित कार्यालयमा बुझाएको छ । पक्राउ परेका बिक्रमलाई औषधी व्यवस्था विभागले औषधी ऐन अनुसार कारबाहीको प्रक्रियाअगाडि बढाउने भएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिनुभयो ।
पक्राउ परेका मण्डल र फरार भएका विकासलाई विभागले प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गर्ने भएको छ । यसअघि पनि विकास पक्राउ परेकाले विभागले पटकेको रुपमा मागदाबी लिएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग दर्ता गर्ने तयारी गरेको छ । औषधी ऐन दफा ३४ (घ) बमोजिम औषधीको अनुचित प्रयोग गरेको पुष्टि भएको खण्डमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमानाको कानूनी व्यवस्था छ ।