लागुऔषध कारोबारी र प्रहरी दुवै सक्रिय

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै अवैध धन्दामा लागेका गिरोहलाई पक्राउ गरि प्रहरीले दैनिक प्रतिबन्धित लागुऔषध बरामद गर्दै आएको छ । मोरङ प्रहरीको सक्रियता बढेसँगै दैनिकजसो कारोबारीसहित लागुऔषध बरामद हुने क्रम बढेको हो ।

ईलाका प्रहरी कार्यालय पथरीले पूर्वका विभिन्न नाकाबाट ल्याइएका अवैध लागुऔषध बरामद गर्दै आएको छ । पछिल्लो एक सातामा ईप्रका पथरीले दैनिक लागुऔषधसहित कारोबारीलाई पक्राउ गर्दै आएको पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिनुभयो ।

१८ माघमा ईप्रका पथरीले लागूऔषधसहित कारोबारीलाई पक्राउ गरेको थियो । प्रहरीले पथरीशनिश्चरे नगरपालिका १ बस्ने नविन बिश्वकर्माको साथबाट लागुऔषध बरामद गरेको थियो । पथरी बजारमा अबैध रुपमा लागुऔषध सेवन तथा बिक्री वितरण भइरहेको सूचना प्रहरीले पाएपछि उनको साथदेखि डाईजापाम १ एम्पुल, लुपिजेसिक १ एम्पुल, फेनारगन १ एम्पुल र एभिल १ एम्पुल गरी जम्मा ४ एम्पुल लागू औषध बरामद गरेको पथरी प्रहरीले जनाएको छ ।

१९ माघमा पनि इप्रका पथरीले पथरीशनिश्चरे २ शान्ति चोकदेखि सोही ठाउँका २६ वर्षिय बुद्धीराज राईलाई लागुऔषधसहित पक्राउ ग¥यो । प्रहरीले उनको साथदेखि ६ सय मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका राईलाई प्रहरीले लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

यस्तै २० माघमा मोरङ पथरी शनिश्चरे १ स्थित २२ वर्षे सतिश लिम्बूको घर खनतलासी गरि अवैध लागुऔषध बरामद भयो । २२ माघमा पथरी शनिश्चरे २ का २४ वर्षे किसान धिमालको साथदेखि ब्राउन सुगर बरामद भयो । पथरी बजारमा ब्राउन सुगर बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले धिमाललाई पक्राउ गरेको थियो । पक्राउ परेका धिमाल अवैध ब्राउन सुगरको कारोबारी रहेको प्रहरीको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

ब्राउन सुगर विश्व बजारमा उच्च गुणस्तरको र महँगो लागुऔषध मध्येमा पर्दछ । तस्करी गरि ब्राउन सुगर नेपाल ल्याइपु¥याउँदा सुनको भन्दा महंगो मुल्यमा कारोबार हुने गरेकोले यसको तस्करी बढेको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीहरूको भनाइ छ ।

तेस्रो मुलुक थाइल्याण्ड र म्यानमारबाट भारत हुँदै अवैध रूपमा ब्राउन सुगरका तस्करीका गिरोहले यो लागुऔषध भित्र्याउने गरेको पाइएको छ । ब्राउन सुगरको तस्करी गर्ने गिरोहले झापाको काँकडभिट्टा नाका प्रयोग गर्ने गरेको सुरक्षा निकायका अधिकारीको भनाइ छ ।

दुई वर्षमा प्रदेश १ मा ५ केजी ६ सय ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म ५ सय २० ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । प्रहरीले बरामद गरेको ब्राउनसुगर अधिकाशं काँकडभिट्टा नाकाबाट ल्याएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लागुऔषधको तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न सीमा नाकामा प्रहरी र सशस्त्र बाहेक लागुऔषध ब्यूरोको टोलीलाई छुट्टै परिचालन हुने गरेको छ । ब्राउन सुगरको तस्करीमा लागेका गिरोहले नेपालको पूर्वी सहरमा ल्याएपछि ‘डोज’ को हिसाबले बिक्री गर्दछन् । एक ग्राम ब्राउनसुगरको ४० डोज बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतबाट पूर्वको सहरहरूमा ल्याएपछि ३ हजारदेखि ५ हजार रूपैयाँसम्म प्रतिडोज बिक्री हुने गरेको बताइन्छ । गिरोहले भारतमा ब्राउनसुगर प्रतिग्राम ४ देखि पाँच हजार रुपैयाँमा खरिद गरेर ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले ल्याएको ब्राउनसुगर धरान, इटहरीको पूर्वी सहरदेखि काठमाडौसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उनीहरुको ‘कनेक्सन’ पूर्वका केही व्यक्तिसँग रहेको पाइएको छ । प्राप्त सूचना र उनीहरुको ‘कनेक्सन’का आधारमा नेपालमा रहेर ब्राउन सुगरको कारोबार गर्ने गिरोहको खोजीमा पूर्वका विभिन्न शहरमा अहिले प्रहरीको भिन्दाभिन्दै टोली परिचालन छ ।

सोमबार, २६ माघ, २०७७, बिहानको १०:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर