डिजिटल मिटरमा राख्दै प्राधिकरण

विराटनगर । नेपाल विद्युत प्र्राधिकरण विराटनगर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्र भित्रका एनालग मिटरलाई डिजिटल मिटरमा प्रतिस्थापन गर्ने कार्यको सुरुवात गरेको छ ।

प्राधिकरणले माघ २ गतेदेखि सेवाग्राहीहरुले प्रयोग गर्दै आएको पुराना एनालग मिटरलाई स्मार्ट थ्री फेज मिटरमा प्रतिस्थापन गर्ने कार्यको सुरुवात गरेको हो ।

प्राधिकरणको विराटनगर वितरण केन्द्रले विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बूढीगङ्गा गाउँपालिका र जहदा गाउँपालिमा अवस्थित सब–स्टेशनबाट नियमित विद्युत वितरण गर्दै आएको छ । प्राधिकरणले आफ्नो कार्यक्षेत्रभित्र रहेका करिब २ हजार ३ सय थ्री फेज एनालग मिटरहरुलाई डिजिटल बनाउने योजना बनाएको छ ।

बिहीबार बेलुकासम्म प्राधिकरणले यसक्षेत्रका करिब १ हजार २ सय एनालग मिटरहलाई डिजिटल मिटरमा रुपान्तरण गरिसकेको छ । यसबाट ग्राहकवर्ग र विद्युत प्राधिकरण दुवै फाईदा पुग्ने विराटनगर वितरण केन्द्रका प्रशासकीय अधिकृत भरत केसीले बताउनुभयो । एनालग मिटर अपगे्रड भईसकेपछि मिटर रिडिङ र लाईन काट्ने स्वचालित हुने उहाँले जानकारी दिनुभयो ।

अलि एड्भान्स रुपमा गईसकेपछि ग्राहकहरुले आफ्नो मिटर आफै रिडिङ गरेर भुक्तानी गर्न सक्नेछन्, केसीले भन्नुभयो, ‘अलि विस्तृृत रुपमा गईसकेपछि यति बिल उठ्यो भनेर ग्राहकहरुको नम्बरमा मेसेज जान्छ र समयमै भुक्तानी नगरे लाईन स्वतः काटिन्छ ।’ विराटनगर वितरण केन्द्रको कार्यक्षेत्रभित्र हाल ७२ हजार ९३ घरधुरीले विद्युत उपभोग गरिरहेका छन् । जसमा थ्री फेज उपभोक्ताहरुको संख्या करिब २ हजार ३ सय रहेको छ ।

पुरानो एनालग मिटरलाई अत्याधुनिक डिजिटल मिटरमा रुपान्तरण गर्न सेवाग्राहीले कुनैपनि किसिमको अतिरिक्त शुल्क नतिर्नुपर्ने प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार, २३ माघ, २०७७, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर