विराटनगर । विराटनगर – १३ स्थित ताजुल ईस्लाम नमुना आधारभुत विद्यालय (मदरसा)मा कार्यरत एक दर्जन शिक्षकहरू तलब नपाएपछि आन्दोलित भएका छन् । १२ जना शिक्षकले दुई वर्षदेखि तलब सुविधा नपाएपछि उनीहरु संगठित भएर आन्दोलनमा उत्रिएका हुन् ।
लामो समय पारिश्रमिक नपाएका शिक्षकहरुले आइतबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी दुई वर्षदेखि तलब नपाएको गुनासो गरे । ‘मदरशामा पढाएको दुई वर्ष पुरा भयो,’ शिक्षक गायत्री ठाकुरले भन्नुभयो, ‘अहिलेसम्म तलब पाएको छैन् । अहिलेपनि नियमित विद्यालयमा पढाउन भने जाने गरेको छु ।’
यहाँ कार्यरत एक दर्जनभन्दा बढी शिक्षकले तलब नपाएको अब पनि तलब नदिए विराटनगर महानगरपालिका घेराउ गर्न जाने चेतावनी शिक्षिका ठाकुरले चेतवी दिनुभयो । ‘यतिका दिनसम्म हामीले तलब आउँछ कि भनेर पखेर बस्यौं । तर पारिश्रमिक आउने कुनै छनक पाएनौं । अब पारिश्रमिक नपाए हामी महानगर घेराउ गर्नेदेखि सबै आन्दोलन गर्न तयार भएका छौं,’ उहाँले भन्नुभयो ।
मदरसा व्यवस्थापन समितिका अध्यक्ष हैदर अलीले उक्त पदको जिम्मेवारी दिएदेखि नै समस्या उत्पन्न भएको शिक्षकहरुले बताएका छन् । दुई वर्षदेखि तलव नपाउँदा मदरसामा कार्यरत शिक्षक र शिक्षिकाहरुको आर्थिक अवस्था जर्जर भएको छ भने परिवार चलाउन नसक्ने अवस्था बनेको छ ।
तलब नपाएको विषय पटक पटक महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख समक्ष राख्दा पनि सुनुवाई नभएको उहाँले बताउनुभयो । ‘विराटनगरमा कोठा भाडामा लिएर बसेको छु’, उहाँले भन्नुभयो, ‘तलव नपाएपछि कोठा भाडा तिर्न र खान नै समस्या भयो ।’
मदरसामा नियुक्ति भएको चार वर्षमा ९० हजार मात्र पारिश्रमिक पाएको उहाँको भनाई थियो । अर्का शिक्षक काजल विश्वकर्माले पनि त्यस्तै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘हामीले काम नियमित ग¥र्यौं तर तलब कहिल्यै नियमित पाइदैन ।’ मासिक १४ हजार रुपैयाँ पारिश्रमिक पाउने गरी काम सुरु गरे पनि कहिले पनि पुरा तलव नपाएको उहाँको गुनासो थियो ।
अनुदानवापत आएको रकम मदरसाको खाताबाट सिधै व्यवस्थापन समितिका अध्यक्ष हैदर अली र प्रअ मोहमद जावेदले लैजाने गरेका कारण शिक्षकहरुले तलब पारिश्रमिक नपाएका हुन् । यस्तै समस्या देखिएपछि अध्यक्षबाट हैदर अलीलाई पछिल्लो समय बर्खास्त गरिएको शिक्षकहरुले जानकारी दिएका छन् ।
अभिभावकहरुको भेलाले २०७६ साल मंसिर १९ गते हैदरलाई व्यवस्थापन समितिका अध्यक्षमा चयन गरेका थिए । तर हैदर विद्यालयको कुनै पनि बैठकमा नआउने भएकाले शिक्षा नियमावली अनुसार अभिभावकहरुको भेलाले उनलाई गत वर्षको माघ २८ गते व्यवस्थापन समितिका अध्यक्षबाट बर्खास्त गरेको थियो । तरपनि विद्यालयको बैंक खाता प्रअको मिलेमतोमा उनीहरु दुवै जनाले चलाउने गरेका छन् ।