विराटनगर । प्रयाप्त गृहकार्यबीना आइतबार एकैपटक दुई दर्जन बढी एजेण्डा प्रस्तुत भएपछि असन्तुष्ट केही वार्ड अध्यक्षहरुले विरोध गरेपछि विराटनगर महानगरपालिकाको कार्यपालिका बैठक प्रभावित भएको छ । वार्ड अध्यक्षहरुले विरोध गर्दै बैठक कक्ष छोड्न खोजेका कारण बैठक सोमबार बस्ने गरी स्थगित भएको बताइएको छ ।
महानगरपालिकाले आइतबार बिहान ८० औं कार्यपालिकाको बैठक आव्हान गरेको थियो । तर महागनरपालिकाको वार्ड नम्बर ३ का अध्यक्ष विनोद बस्नेत, ५ का अध्यक्ष मिनकुमार आचार्य, ९ का अध्यक्ष विश्वनाथ भगत लगायतले प्रयाप्त छलफल नगरी महत्वपूर्ण एजेण्डाहरु अगाडि बढाउन नहुने भन्दै विरोध जनाएका थिए । उनीहरुको उक्त भनाईमा कार्यपालिकाका अन्य सदस्यहरुले पनि सहमति जनाएपछि बैठक सोमबारका लागि स्थगित गरिएको बताइएको छ ।
आइतबारको बैठकमा महानगरका तर्फबाट प्रमुख भीम पराजुलीले विभिन्न २५ एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो । ‘बैठकमा एजेण्डा प्रस्तुत गर्दै उहाँले दुई घण्टाभित्र निर्णय गरिसक्नु पर्ने भनाई राख्नुभयो, यतिधेरै विषयमा प्रयाप्त छलफल नै नगरी हतारमा निर्णय गर्न सकिदैन भनेर हामीले विरोध जनायौं र बैठक स्थगित भयो,’ एक जना वार्ड अध्यक्षले भन्नुभयो ।
ति अध्यक्षको भनाइ सत्य नभएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभएको छ । उहाँले आइतबार बैठक बसेको र आवश्यक प्रस्तावहरु प्रस्तुत गरिएको र सोमबार थप छलफल गर्ने सहमतिमै बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ । अनावश्यक विवाद सिर्जना गर्न अतिरञ्जित ढंगले विषय बाहिर लैजाने प्रयत्न भएको भन्दै उहाँले महानगरका प्रमुख प्रशासकीय अधिकृत लामो समय विराटनगर बाहिर हुँदा र उहाँले समय दिन नसकेकै कारण महिनामा दुई पटक बस्नु पर्ने बैठक बस्न नसकेको बताउनुभयो । बैठक नबस्नुको अन्य कारण नभएकोले त्यसैलाई निहुँ बनाएर महानगरको काममा अवरोध गर्न नहुने उहाँको भनाई थियो ।
कार्यपालिकाको अर्को बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ । सोमबार दुई वटा एजेण्डामा मात्र केन्द्रीत हुनुपर्ने अन्यथा सोमबार पनि बैठक सुचारु हुन नसक्ने केही वार्ड अध्यक्षहरुले बताएका थिए । ‘कार्यपालिकाको बैठक महिनामा दुई पटक बस्नुपर्नेमा दुई महिनासम्म बैठक राखिएन । जब बैठक राखियो छलफलको समयसम्म नदिई २५ एजेण्डा ल्याइयो हामीले त्यसको विरोध गरेका हौं,’ विराटनगर ५ का वडाअध्यक्ष मिन कुमार आचार्यले भन्नुभयो, ‘विगतमा एउटा बैठकमा बढीमा तीन एजेण्डा आउँथे यसपटक नि यतिधेरै विषय एकैपटक आए हामी अध्ययन गर्दैर्छौं ।’
‘बैठकमा प्रस्तुत जेण्डामाथि घनिभूत छलफल हुनुपर्ने र विषयहरुमा प्रयाप्त छलफल नगरी झाराटार्ने काम गर्न नहुने अर्का वडाध्क्ष विनोदकुमार बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो ‘प्रमुखबाट एकैपटक धेरै एजेण्डा आएपछि कार्यपालिका बैठकमा विरोध भएको हो । बोर्डमा आउने एजेण्डाहरु प्रकृगत ढंगबाट ल्याइनु पर्छ भन्ने हाम्रो कुरा हो ।’
बैठकमा विरोध भएपछि सोमबार महत्वपूर्ण दुईदेखि तीन वटा एजेण्डामा छलफल गर्ने गरी बेठक स्थगित गरिएको बस्नेतले जानकारी दिनुभयो । अनावश्यक ढंगले जथाभावी कर्मचारी नियुक्ति गरेको, विधि विपरित मनोमानी ढंगले काम हुन थालेको आदि कुरा उठाउँदै कार्यपालिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेको बताइएको छ ।