विराटनगर । वनपैदावार क्षेत्रका उद्योगी एवम् ब्यवासायीहरुले जङ्गलका साल प्रजातिको काठ उत्पादन तथा आपुर्तिमा लगाइएको बन्देज अविलम्ब हटाउन माग गरेका छन् ।
नेपाल वनपैदावार उद्योग ब्यवसायी संघ मोरङको शनिबार विराटनगरमा आयोजित १३ औं वार्षिक साधारण सभाका सहभागीहरुले लामो समयदेखि वन स्रोतको उत्पादन र आपुर्तिमा बन्देज लगाउँदा आम उपभोक्तामा नकारात्मक असर परेको र यसले वनमा चोरी तस्करीको समस्यासमेत बढेको बताएका हुन् । उनीहरुले छिटोभन्दा छिटो वनपैदवार आपुर्तिको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन् ।
साधारण सभाको उद्घाटन सत्रमा बोल्नुहुँदै संघका मोरङ अध्यक्ष सिताराम अग्रवालले गत वर्षको जेठ १५ गते सरकारले अनायसै रुख कटान, संकलन तथा आपुर्तिमा रोक लगाएको बताउनुभयो । उहाँले त्यसबाट आम उपभोक्ता तथा उद्योगी ब्यवसायी समस्यामा परेको बताउनुभयो । ‘काठको आपुर्तिमा रोक लागाउँदा एकातिर उपभोक्ताले महंगो मूल्य तिरेर काठ किन्न परेको छ भने अर्कोतिर विदेशी काठको आयात बढेर देशको मुद्रा विदेशिएको छ,’ अग्रवालले भन्नुभयो ‘यो निर्णय कुनै पनि अर्थमा प्रभावकारी छैन बरु उल्टै आम उपभोक्ता र मुलुकको हित विपरित भएको देखिन्छ ।’
सामुदायिक वन उपभोक्ता महासंघका नेता अग्निप्रसाद पौडेलले प्रधानमन्त्रीको ठाडो निर्देशनपछि सालको काठ कटान तथा ओसारपसरमा अकस्मात रोक लगाइदा हजारौं क्युविक फिट काठ जङ्गलमै कुहिने अवस्थामा पुगेको बताउनुभयो । त्यसबाट वातावरणमा समेत नकारात्मक असर पुगेको भन्दै आर्थिक नोक्सानीसँगै वातावरण र आम उपभोक्ताहरुलाई असर पार्ने यस्ता निर्णय तत्काल फिर्ता गर्न उहाँले आग्रह गर्नुभयो ।
साल सहितका काठहरुको संकलन, ओसारपसार र बिक्री वितरणमा रोक लगाइएपछि महासंघको पहलमा उच्चस्तरीय छानविन समिति गठन भएको तर प्रतिवेदन बुझाएपनि सरकारले त्यसलाई सुनुवाई नगरेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
नेपाल वनपैदावार उद्योग ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्यामसुन्दर ढकालले सुदुरपश्चिमका केही उपभोक्ता समुहहरुले बदमासी गरेको कारण देखाएर देशभरका उपभोक्तालाई बदनाम गर्ने र उनीहरुलाई दुःख दिने काम जायज नभएको बताउनुभयो ।
उहाँले नियम विपरीत बदमाशी गर्ने समिति तथा समुहहरुलाई कारवाही गर्नु ठिक भएपनि सबैलाई एउटै व्यवहार गर्न नहुनेमा जोड दिनुभयो । डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्धप्रसाद साहले अहिले पनि मोरङका जंगलहरुमा डेढलाख क्युबिक फिट काठ त्यतिकै रहेको बताउनुभयो । नेपालमा उत्पादन हुने कुल काठमध्ये ६० प्रतिशत प्रदेश एकको जंगलबाट उत्पादन हुने गरेको प्रमुख साहले बताउनुभयो ।