विराटनगरमा पूर्वकै ठूलो पार्टी प्यालेस बन्दै

विराटनगर । विराटनगरको मुख्य बजार नजिकै पूर्वकै सबैभन्दा ठूलो पार्टी प्यालेसको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

विराटनगरको ट्राफिक चौकबाट करिब ५ सय मिटर पूर्व आफ्नो पुख्र्याैली जमिनको उपयोग गर्दै उद्योगपति भगवान राठीले पूर्वकै सबैभन्दा ठूलो पार्टी प्यालेसको निर्माण गरिरहेका छन् ।

सुनसरीमा बाबा पेपर मिल्स र सनराइज पेपर मिल्स गरी २ ठूला कागज उद्योग सञ्चालन गरिरहेका राठीले १ अर्ब ४० करोडको लगानीमा पार्टी प्यालेस सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । आगामी नयाँ वर्षको दिन उद्घाटन गर्ने लक्ष्यका साथ ‘सिटी गार्डेन एन्ड पार्टी प्यालेस’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

करिब १ बिघा ८ कट्ठा जग्गामा पार्टी प्यालेसको निर्माण गरिरहेको राठीले बताउनुभयो । जमिनबाहेक ४० करोड निर्माण र थप १० करोड सञ्चालन खर्च छुट्याएर काम गरिरहेको उहाँको भनाइ छ ।

उद्योगी राठीका अनुसार पार्टी प्यालेसमा १ हजार र ७ सय व्यक्ति अटाउने २ वटा ठूला र वातानुकूलित हल छन् । विवाहस्थल पनि २ वटा छन् । वास बस्न सुविधासम्पन्न र अत्याधुनिक शैलीका ४३ वटा कोठाको निर्माण भइरहेको छ भने पार्टी प्यालेसभित्रै राधाकृष्णको मन्दिर पनि स्थापना गरिनेछ । परिसरमा ३ वटा स्विमिङ पुल हुनेछन् ।

पार्टी प्यालेसमा शाकाहारी २ वटा रेस्टुरेन्ट सञ्चालनमा आउनेछन् । यसबाहेक आइसक्रिम र कफीसहितको फास्टफुड पार्लर छुट्टै चलाइनेछ । लजिङ र फुडिङ बाह्रै महिना उपलब्ध हुनेछ । पार्टी प्यालेसमा बालबालिकाको मनोरञ्जनका लागि ४ कट्ठा जमिन छुट्याइएको छ । यसमा मनोरम फूलबारीसहितको ट्वाई ट्रेन र अत्याधुनिक झुला (पिङ), चिप्लेटी आदि खेल्ने साधन राखिनेछन् ।

एक दर्जनभन्दा बढी फाउन्टेन (पानीको फोहरा), आकर्षक फूलबारी र विभिन्न रङका बिजुली बत्तीको संयोजनले दिउँसोभन्दा राति यो स्थल भव्य देखिने विश्वास लिएको सञ्चालक राठीले बताउनुभयो । पार्किङ एरियामा १ सय २५ सवारी साधन सजिलै अटाउन सक्ने राठीले बताउनुभयो ।

विवाह गर्नकै लागि विराटनगरका बासिन्दा भारतका विभिन्न मुख्य र ठूला शहर जाने चलन रोक्न हामी यो परम्परालाई ब्रेक गर्न चाहन्छौं ।

बुधबार, ०८ पुष, २०७७, बिहानको १०:४५ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर