तस्करीको प्वाल टाल्दै प्रहरी

विराटनगर । विराटनगर जुट मिल्स् परिसरको दक्षिण तर्फको बाटो प्रयोग गरी तस्करी बढेपछि प्रहरीले जुट मिलको क्वाटर भवनका झ्यालहरु टालिदिएको छ ।

नेपाल–भारत सीमाना विराटनगर–१६ मा जुट मिलका मजदुर तथा कर्मचारीको जीर्ण आवास झ्यालहरु प्रयोग गरेर तस्करी हुने गरेको सूचनासँगै प्रहरीले ति प्वालहरु बन्द गरेको हो ।

जुटमिलमा काम गर्ने मजदुर तथा कर्मचारीले प्रयोग गर्दै आएको भवन प्रयोग गरेर तस्करले सामान तथा खसी बोका समेत नेपाल ल्याउन गरेका थिए । पुरानो भवनको झ्यालबाट खुलेआम तस्करी हुने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापासहितको टोलिले झ्यालमा जाली लगाएर बन्द गरिदिएको हो ।

तस्करी रोक्न प्रहरीले काठ, तारजाली र काँटीको प्रयोग गरी बन्द गरेको छ । यसलाई जुट मिल्सको लाइन क्वार्टर भनिन्छ । आवासगृहका लागि बनेका ३५ वटा जीर्ण संरचनामा पहिले मजदुरहरु बस्ने गर्दथे । यी संरचना नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक छन् । दशगजा नजिकै जीर्ण भवनका झ्यालबाट तस्करीका सामान नेपालतर्फ छिराउने र तस्करी गर्ने गरेपछि प्रहरीले लामो अनुसन्धानपछि भवनका झ्याल नै टालिदिएको हो । लामो समयदेखि प्रयोग हुँदै आएको मार्ग बन्द भएपछि तस्करी बन्द हुने प्रहरीको अनुमान छ ।

सीमापार भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताले खरिद गरेको सामान जोगबनीकै व्यापारीले समेत त्यहाँसम्म ल्याएर झ्यालबाट नेपालतर्फ फ्याँकी दिने गरेको सूचना प्रहरीले पाएको थियो ।

शुक्रबार, ०७ कार्तिक, २०७७, बिहानको १०:३६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर