विराटनगर । नेपाल सरकार र प्रदेश नंं. १ सरकारको संयुक्त आयोजनामा प्रदेश सुरक्षा गोष्ठि भर्चुअल माध्यमबाट मंगलबार सम्पन्न भएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सुरु भएको गोष्ठिको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो ।
गोष्ठिको समापनमा गृहमन्त्री रामबहादुर थापाको विषेश सम्बोधन गर्नुभएको थियो । गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिनु भएको छ ।
गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो । ‘नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ’ गृहमन्त्री थापाको भनाइ थियो, ‘उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्नेछ ।’
पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै गृहमन्त्री थापाले यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिनुभयो । अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराउँदै उहाँले त्यसर्ला प्रभावकारी बनाईराख्न समेत उहाँले निर्देशन दिनुभयो ।
प्रहरी समायोजनबारेको प्रस्ताव पास भईसकेको जानकारी दिँदै गृहमन्त्री थापाले अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास दिलाउनुभएको छ । उहाँले दशँै तिहारजस्ता चाडपर्व नजिकिएको भन्दै कालोबजारी र महङ्गी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारवाही गर्न पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।
कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा प्रदेश नं १ मा भर्चुअल माध्यमबाट आयोजना भएको हो । गोष्ठिमा गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुखहरुले सम्बोधन गर्नुभएको थियो ।
सुरक्षा गोष्ठिमा प्रदेशका १४ वटै जिल्लाका जिल्ला सुरक्षा समिति, प्रदेश स्थित सुरक्षा निकायका प्रदेश प्रमुखहरुको उपस्थित रहेको थियो ।