इटहरी । सर्वसाधारणलाई विभिन्न बहानामा ठगी गर्ने सुनसरीको इटहरीस्थित भोजपुरे ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिभिन्न बहाना बनाएर मानिसहरूसँग पैसा लिने र फिर्ता माग्दा पैसा नभएको बैंकको चेक दिएर ठगी गरेको आरोपमा इटहरी ९ भोजपुरे टोल बस्ने भोजपुरे ज्वेलर्सका सञ्चालक ३५ वर्षीय माधब रिसाल पक्राउ परेका हुन् ।
रिसाललाई ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार रिसाललाई प्रहरीले इनरुवा ३ सखुवागाछी एरियामा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।
पक्राउ परेका रिसालमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम ठगी गरेको अभियोगमा मुद्दाको प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।