प्रहरीद्वारा १९ करोड जरिवाना असुली

विराटनगर । गएको आर्थिक वर्षमा प्रदेश नं. १ का जिल्ला प्रहरी कार्यालयहरुले १९ करोड रुपैयाँभन्दा बढी जरिवाना असुलउपर गरेका छन् ।

प्रहरी कार्यालयहरुले आर्थिक वर्ष आव २०७६÷७७ मा ९ सय ७७ जना फरार अपराधीहरुलाई पक्राउ गरि अदालतले तोकेको १९ करोड ३४ लाख ५२ हजार ५ सय ४३ रुपैयाँ जरिवाना असुलउपर गरेका हुन् ।

प्रहरीले पक्राउ गरेका सबै फरार अभियुक्तहरुलाई अदालतको जिम्मा लगाएको थियो । प्रहरीले सबैभन्दा बढी मोरङबाट ४ सय ४३ जनालाई पक्राउ गरेको थियो । उनीहरुबाट १७ करोड १ लाख ५८ हजार १ सय १५ रुपैयाँ असुलउपर गरेको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले गत आवमा झापाबाट पक्राउ परेका ८७ जना फरार अभियुक्तबाट १ करोड १२ लाख ९५ हजार, ईलामबाट पक्राउ परेका ९२ जनाबाट २६ लाख ६७ हजार, पाँचथरबाट पक्राउ परेका ८ जनाबाट ६० हजार ४७, सुनसरीबाट पक्राउ परेका ३ सय १२ जनाबाट ११ लाख ८२ हजार र तेह्रथुमबाट पक्राउ परेका ७ जनाबाट २ लाख ८३ हजार रुँपैया जरिवाना असुल गरेको थियो । यसबाहेक प्रहरीले उदयपुरबाट पक्राउ परेका ५९ जनाबाट ३ लाख १३ हजार, खोटाङबाट पक्राउ परेका ९ जनाबाट १ लाख २५ हजार, ओखलढुङ्गाबाट पक्राउ परेका ३ जनाबाट २७ हजार ५ सय, सोलुखुम्बुबाट पक्राउ परेका ६ जनाबाट ५ लाख ९ हजार, संखुवासभाबाट पक्राउ परेका १६ जनाबाट १३ लाख ९६ हजार र भोजपुरबाट पक्राउ परेका ५ जना फरार अपराधीहरुबाट ४० लाख २३ हजार रुँपैया जरिवाना असुल गरेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आव २०७६÷७७ मा प्रहरीले फौजदारी कसुरमा ६ सय १ र देवानी कसुरमा ३ सय ६९ जनामाथि मुद्दा चलाई आवश्यक कारबाही चलाएको जनाएको छ ।

शुक्रबार, २३ असोज, २०७७, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर