इटहरी । सुनसरीको इनरुवा ७ वर्छवा चोकबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगर ७ कविलासा घुस्की बस्ने १९ वर्षीय उपेन्द्र सरदार र सोही स्थानका १९ वर्षकै हरिशंकर सरदार रहेका छन् ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको थियो । ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जनामाथि चेकजाँच गर्दा प्लाष्टिकको बोरामा लुकाईछिपाई ल्याएको डाइलेक्स–डिसी ८९ बोतल, स्पास्मो प्रोक्सिभिन ७६८ क्याप्सुल र नाइट्राभेट ४२० ट्याब्लेट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशंकर उपर थप अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।