विराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
सुनसरीको हरिनगरा ६ का २५ वर्षीय जिवराईल अन्सारी लागुऔषधसहित पक्राउ परेका छन् । अन्सारीलाई इटहरी ६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
अन्सारीले अबैध लागुऔषधको कारोबार गर्ने गरेको सुचना आएपछि प्रहरीको निगरानीमा थिए । उनले बोकेको झोला चेकजाँच गर्दा लुकाईछिपाई राखीएको अवस्थामा १६ सय नाइट्रोजन ट्याब्लेट फेला पारेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।
यता मोरङको दरैयाबाट ३६ वर्षीय दिपक तामङ लागुऔषधसहित पक्राउ परेका छन् । मंगलबार साँझ मोटरसाईकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट स्पास्मो १० चक्की, निट्रोभेट १० चक्की र डाइलेक्स–डिसि ३ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ वर्षीय नरबहादुर राजवंशी रहेका छन् ।
प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको छ । उनीहरुको साथबाट नगद ९ हजार रुपैयाँसमेत फेला पारी बरामद गरिएको छ ।