जाँतेका अग्निपीडितलाई सहयोग

जाँते(मोरङ) । गत शनिबार विहान भएको आगलागीमा दुई तले काठको घर गुमाएका जाँतेका पीडितलाई सहयोग जुट्न थालेको छ ।

अग्निपीडित परिवारलाई आइतबार झण्डै ५० हजार बढिको सहयोग प्राप्त भएको पीडित धनबहादुरका कान्छा छोरा दिनेश राईले जानकारी दिनुभयो ।

आगलागी भएको दिन वडा कार्यालयको तर्फबाट २ सेट ग्याँस सिलिण्डर र चुल्हो, दुई परिवारका ८ जनालाई लगाउने लुगा, भान्सामा प्रयोग हुने भाँडाकुँडा, ओड्ने ओछ्याउने र केही खाद्यान्न प्राप्त भएको थियो । छिमेकीले पनि पीडित परिवारलाई सहयोग गरेका छन् ।

क्रसर व्यवसायी भिम पौडेलले २५ किलो चामलसँगै ओड्ने ओछ्याउने, स्थानीय कमल राईले ५ हजार ५ सय नगद र २५ किलो चामलसहित भाँडाकुँडा, टंक राईले ५ हजार नगद र चामल प्रदान गरेका छन् । यसैगरी हाल कतार मुलकमा रहेका स्थानीय पदम धमालले नगद १० हजार ५ सय रुपैयाँ पठाएका छन् । कतारमै रहेका स्थानीय बद्री सुब्बाले पनि नेपनालमा रहेका आफ्ना भाइ चन्द्र सुब्बामार्फत नगद १० हजार ५ रुपैयाँ सहयोग गरेका छन् ।

पीडित राई परिवार बन्दाबन्दीको कारण मारमा परेकै बेला चाडबाडको मुखमा घर आगलागी भएर विचल्लीमा परेको छ । विहान घरमा केटाकेटी मात्र भएको बेला विद्युत सर्ट भई लागेको आगोबाट आगलागी हुँदा धनबहादुर राईको करिब ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सोमबार, ०५ असोज, २०७७, साँझको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर