नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

असोज २ गते बस्ने तय भएको बैठक आइतबार पौने १२ बजे सुरु भएको हो । दुबै अध्यक्ष र सबै सचिबालय सदस्यको उपस्थितिमा बैठक सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

नेकपा अध्यक्ष प्रचण्ड कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् ।

बैठकमा पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे छलफल हुने बताइएको छ ।

बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो । साथै पार्टी र सरकारको कामलाई संस्थागत ढंगले अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो ।

पार्टीको सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा पनि आजको बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

आइतबार, ०४ असोज, २०७७, दिउँसोको १२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर