विराटनगर । विराटनगर वगरगाछी स्थित जय माँकाली मुर्तीकला केन्द्रबाट अघिल्ला वर्ष २ सय थान विश्वकर्मा बाबाको मुर्ती बिक्री भएका थिए । तर, यसपाली ५० वटा मुर्ती बनाएको त्यो पनि बिक्रि भएका छैनन् ।
मुर्ती केन्द्रका सञ्चालक तथा मुर्तीकार नितेश महतोका अनुसार यो वर्ष कोरोना महामारी नियन्त्रणका लगि भएको लामो लकडाउनले आर्थिक गतिविधि प्रभावित भएसँगै चाडपर्वमा बिक्रि हुने मुर्ती व्यावसाय पनि प्रत्यक्ष मारमा परेको हो ।
यो वर्ष बिक्री होला कि भन्ने आशमा बनाएका ५० वटा मुर्तीहरुमध्ये दुई दर्जन मात्र बिक्री भएका छन् । ‘खै ! अरु मुर्ती बिक्री हुन्छ की हुदैन, धेरै चिन्ता लागिरहेको छ ?’ मुर्तीकार नितेशले भन्नुभयोे । लामो लककडाउने गर्दा सार्वजनिक यातायातहरु अझै सञ्चालनमा नहुँदा विश्वकर्मा बाबका मुर्तीहरु बिक्री नभएको हो ।
कोरोनाको कारण विश्वकर्मा पुजा प्रभावित भएको छ । मोटर ग्यारेजहरु प्रायः बन्द छन् । खुलेकाहरुलाई पनि गुजारा चलाउन धौ–धौ छ । यात्रुबाहक बसहरु आ–आफ्ना ग्यारेज र घरघरमै थन्किएका छन् । सिटी रिक्सा र अटो टेम्पो भर्खर चल्न थालेपनि यात्रु नहुँदा उनीहरुको आम्दानी छैन ।
खासगरी तराई मधेशका जिल्लाहरुमा सरस्वती पूजा, कृष्ण अष्टमी, विश्वकर्मा पूजा, दुर्गा पूजालगायतका विभिन्न पर्व तथा पूजाहरुमा चोक चोक र टोल टोलमा माटोको मुर्ति राखेर भव्य रुपमा मनाउने चलन छ । यस्ता पर्व तथा पूजाहरुलाई लक्षित गरेर माटोको मुर्ति बनाउने र यसैको आम्दानीले घरपरिवार पाल्दै आएका मोरङ मुर्तिकारहरु यो वर्ष भने निरास छन् । कोरोना भाइरसको महामारीका कारण मुर्ति बिक्रि नभएको विराटनगरका मुर्तिकार मिताइचन्द्र महतोको गुनासो छ ।
व्यापार व्यावसाय नहुँदा चन्दा संकलन गरेर सार्वजनिक स्थानमा धुमधामसँग आयोजना गरिने विश्वकर्मा पुजा समारोह पनि कतै आयोजना हुने अवस्था नहुँदा मुर्ती बिक्री नभएको हो । मुर्तीकार तथा जय माँकाली मुर्ती कलाकेन्द्रका प्रमुख सञ्चालक दिनेशचन्द महतोका अनुसार अघिल्ला वर्षहरुमा सिटी र अटो रिक्साहरुले मात्र ५० थानभन्दा बढी मुर्ती किनेर लाग्ने गर्दथे । विश्वकर्मा पुजाको १५ दिनअघि नै मुर्तीको अर्डर बुक भइसक्थ्यो ।
कोरोना महामारीले गर्दा यो बर्ष मुर्तीको व्यापार पुरै खस्किएको छ । मुर्तीकार महताको अनुसार भन्ने वित्तिकै मुर्ती तयार गर्न नसकिदैने भएकोले जोखिम मोलेरै भएपनि बिक्री हुने आशामा ५० वटा साना ठूला मुर्ती बनाइएको थियो । त्यो नविक्दा पुरै ऋणमा जाकिने उहाँको भनाइ छ ।
मुर्ती बनाएर बिक्री गर्नु सजिलो काम हैन । आवश्यक माटो, बाँस, रंगदेखि श्रृंगारका समानहरु सबै खरिद गर्नुपर्छ । चाडवाडका बेला हतारमा एक–दुई जनाले मात्र धेरै मुर्ती बनाउन भ्याइदैन । यसैले ज्यालमा सहायक मुर्तीकारहरु पनि प्रयोग गर्नुपर्छ ।
मुर्ती सजावटका लागि चाहिने श्रृंगार सामग्री सबै भारतबाट चर्को मूल्य र भन्सार शुल्क तिरेर ल्याउनुपर्छ । घाम लागेन भने मुर्ती सुकाउन महंगो ग्याँस सिलिण्डरको आगो प्रयोग गर्नुपर्छ । यसैले एउटा मुर्ती बनाउँदा २ देखि ५ सयसम्म मुस्किलले नाफा हुने महतोको भनाइ छ ।
हाल माँकाली मुर्ती कलाकेन्द्रमा १ हजारदेखि ५ हजार रुपैयाँसम्मका मुर्ती बनाएर बिक्री गर्न राखिएको छ । कोरोनाले गर्दा यो वर्ष दुर्गा र काली पुजामा पनि मुर्ती बनाउने अर्डर एकदमै कम आउने अवस्था छ । त्यसैले महतो चिन्तामा छन् ।
मौसमी पेशा भए पनि यसै पेशाबाट यस क्षेत्रका मुर्तिकारहरुले आफ्नो जिविकोपार्जन गर्दै आएका छन् । विगत केही वर्ष यता यस्ता मुर्तिहरु जिल्लामै बन्न थालेपछि भारतबाट आउने मुर्तिलाई प्रस्थिापनमा समेत सघाउ पु¥याएको छ ।