विराटनगर । विराटनगर भन्सार कार्यालयले गएको माघ महिनामा तस्करीका क्रममा बरामद भएको ७० लाख मूल्य बराबरको मालवस्तु लिलाम गर्न सूचना प्रकाशित ग¥यो । लत्ताकपडा, मोटरपार्ट, पार्टपुर्जा तथा मेसिनरी, खाद्य सामग्री आदि वस्तु लिलामी गर्न सूचना प्रकाशित गरेपनि उक्त वस्तु खरिद गर्न कसैले पनि चासो देखाएनन् ।
त्यसअघि पनि भन्सारले ती वस्तु लिलामी गर्न खोजेको थियो । त्यतिबेला पनि खरिदकर्ताको अभावमा लिलाम नभई गोदाममै थन्किएपछि माघमा मूल्य घटाएर पूनः सूचना प्रकाशन भएको थियो । यसपटक पनि लिलाम कसैले सकारेनन् ।
विराटनगर भन्सारमा विगत ४ वर्षदेखि प्रहरीले बरामद गरेर बुझाएका करोडौं मूल्यका सामग्रीहरु लिलाम नभई थन्किएका छन् । पटक–पटक लिलामको सूचना प्रकाशन गरेपनि खरिदकर्ताको चासो नहुँदा करोडौं मूल्यको वस्तु बिक्री नभई गोदाममा थन्किएको विराटनगर भन्सारका प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
माघपछि बरामद भएका वस्तुको मूल्यांकन र लिलामीको प्रक्रिया भने अहिलेसम्म अघि बढेको छैन । कोरोना भाइरस संक्रमणका कारण अहिले लिलामी प्रक्रिया अघि नबढेको उहाँले बताउनुभयो ।
भन्सार गोदाममा सयौं प्रकारका वस्तुहरु लिलाम नभई थन्किएको छ । त्यसमध्ये कपडा सबैभन्दा धेरै रहेको भन्सार कार्यालयका मुद्दा शाखाका नायव सुब्बा हिमालय दाहालले जानकारी दिनुभयो ।
‘माघ फागुनमै लिलाम गर्न खोजेका थियौं तर कसैले पनि ती सामान सकार्ने प्रस्ताव ल्याएनन्,’ दाहालले भन्नुभयो ‘समयमा लिलाम नहुँदा वस्तुको मूल्य घट्दै जाने र धेरैजसो उपयोग हुनै नसक्ने गरी नासिने हुँदा राजश्वमा पनि असर पर्ने गरेको छ ।’ पटक–पटक सूचना प्रकाशन गर्दा पनि लिलाम नहुनुको मूख्य कारण वस्तुको अधिक मूल्यांकन भएको बताइएको छ ।
लिलाम नहुनुको स्पष्ट कारणबारे भन्सारका कर्मचारीहरुले मुख नखोले पनि प्रहरीले बरामदी प्रतिवेदन तयार पार्दा बढी मूल्यांकन राखिदिने गरेका कारण लिलामी नभएको सहजै बुझ्न सकिन्छ । बरामद सामानको बरामदी प्रतिवेदनमा उल्लेख भएको मूल्यमै लिलामी गर्नुपर्ने बाध्यता भन्सार कार्यालयलाई छ । प्रहरीले प्रचलित बजार मूल्यमा बरामदी प्रतिवेदन बनाएर भन्सारमा बुझाउने गरेका कारणले लिलाम सकार्न हतपत तयार नहुने समस्या हुने गरेको हो ।
बरामद भएलगतै लिलामको सूचना प्रकाशित नहुने र लामो समय गोदाममा थन्किएको सामान बजार मूल्यमा बिक्री गर्न खोज्दा बिक्री नहुनु स्वभाविक भएको भन्सारका एक कर्मचारीले बताए । प्रहरीले चोरी तस्करीमा उल्लेख्य काम गरेको देखाउन बढी मूल्य राखेर बरामदी प्रतिवेदन दिने र भन्सारले सोही मूल्यमा लिलाम गर्नखोज्दा खरिदकर्ता नभेटाउने पुरानो समस्या अहिलेपनि समाधान हुन सकेको छैन ।
बढाबढमा लिलाम सकार्नु पर्ने भएकोले बजार मूल्यमा नभई मूल्य घटाएर प्रतिवेदन गएको खण्डमा मात्र लिलामप्रति आकर्षण हुने कर्मचारीहरु बताउँछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतर्फबाट दिइने बरामदी प्रतिवेदनमा मूल्य अधिक उल्लेख हुने गरेको छ ।
विराटनगर भन्सारमा विभिन्न समयमा बरामद भएका करिव ४ सय थान मोटरसाइकल, २५ थान अटो रिक्सा, जिप तथा पिकअप १० थान, मिनी ट्रक, ट्रक र ट्याक्टरहरु वर्षैंदेखि लिलाम नभई थन्किएर बसेको छ । प्रहरीले दिएको प्रतिवेदनमा बढी मूल्य भएपनि सवारी साधनको हकमा यातायात व्यवस्था कार्यालयले प्राविधिक मूल्यांकन गर्ने भएकोले यस्ता वस्तु भने लिलाम गर्न केही सहज हुन्छ ।
लिलामका लागि प्राविधिक मूल्यांकन भइसकेपछि कोरोना महामारी सुरु भएपछि सवारी साधनको लिलाम प्रक्रिया भने अवरुद्ध भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । अहिले विराटनगरमा ३ करोडभन्दा बढी मूल्यको सवारी साधन र एक करोडभन्दा बढी मूल्यको अन्य वस्तुहरु लिलाम नभई थन्किएको छ ।
लामो समयसम्म लिलाम नभई गोदाममा थन्क्याउनु पर्ने अवस्थाको बारेमा विराटनगर भन्सारका प्रमुख शिवप्रसाद भण्डारी भन्नुहुन्छ ‘हामीले पटक पटक लिलामीको सूचना निकालेका छौं खरिद गर्न कोही आउँदैनन्, सरकारको सम्पति त्यतिकै लैजाओ भन्न मिलेन ।’ उहाँले लिलामी प्रक्रिया र वस्तुको मूल्यांकनको विधिमा तालमेल हुननसक्दा देशभरका भन्सारमा यस प्रकारको समस्या रहेको बताउनुभयो ।
सवारी साधनको सवालमा समयमा प्राविधिक प्रतिवेदन बनाउन नसक्दा मूल्य घट्ने र अन्य सामानको हकमा अधिक मूल्यांकन पनि समस्याको रुपमा रहेको उहाँले बताउनुभयो ।
Tell me process
We can part in the lilam and there should be transparency and
Low cost compare than market value..so any take the intrest…
Thank you..