विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको आइतबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार राति ८ बजेर ४५ मिनेटमा संक्रमित व्यक्तिको निधन भएको हो । प्रतिष्ठानको अर्थो अब्जरवेसन वार्डमा उपचारको लागि आएका उनमा भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकलाई अन्य कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव व्यवस्थापन नियमअनुसार भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिनुभयो ।
यसअघि आइतबार दिउँसो २ बजेर १८ मिनेटमा विराटनगर १२ का ७० बर्षीय पुरुषको पनि वीपीको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।